५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मानव अधिकार एलाइन्स कपिलवस्तुले मनायो स्थापना दिवस



मायादेवी अनलाइन, बाणगंगा ।

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) जिल्ला शाखा कपिलवस्तुले आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । सामाजिक र आर्थिक रुपान्तरणका लागि मानव अधिकारको सुनिश्चितता, सुसंस्कृत, समुन्नत र समृद्ध नेपाल निर्माण हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ एलाइन्स कपिलवस्तुले शिक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।

मानव अधिकार एलाइन्सका केन्द्रिय सचिव तथा प्रदेश इन्चार्ज रोमकान्त घिमिरेले शिक्षा र मानव अधिकार बिषयक कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकारको अवस्था, मानव अधिकार सम्बन्धी कानुनी मान्यता, मानव अधिकार सुनिश्चित हुने सुचकहरुको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले गर्भ अवस्था देखि मृत्युसम्म मानिसले पाउनुपर्ने अधिकार, ती अधिकारका लागि गर्नुपर्ने वकालत र नागरिकको दायित्व, सुरक्षित रोजगार सम्बन्धी जानकारी गराउनुभएको थियो ।

कार्यक्रम ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनको सभाहलमा आयोजना गरिएको थियो । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले शिक्षा र मानव अधिकार बिषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने जसको सम्बोधन केन्द्रिय सचिव घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रमका अध्यक्ष मानव अधिकार एलाईन्स कपिलवस्तुका उपाध्यक्ष रीता बोहोराले स्थापना दिवसको अवसरमा शुभकामना दिंदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मानव अधिकार सुनिश्चितताका लागि सबैले हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशनका प्रबन्ध निर्देशक असिम कंडेल क्षेत्री, कोरियन भाषा बिभाग प्रमुख महेश आचार्य, कोरियन भाषा प्रशिक्षक माधव घिमिरे लगायत अन्य कर्मचारीहरुको उपस्थिती रहेको कार्यक्रम नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुका सदस्य तथा मानव अधिकार एलाईन्स कपिलवस्तुका पुर्व सह सचिव पुर्ण चन्द्र परियारको स्वागत तथा मानव अधिकार एलाईन्स कपिलवस्तुका सदस्य हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३२ असार २०८१ सोमबार ००:००  ६ : ४३ बजे