२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

बाणगंगाको दुई वटा वडा पोषण मैत्री घोषणा हुँदै



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वटा वडा पोषण मैत्री वडा घोषणा हुने भएका छन् । नगरपालिकाको ११ वडाहरु मध्ये वडा न. ५ र ८ पोषणमैत्री वडा घोषणाका लागि तोकिएको लक्ष्य पुरा गरेका हुन् ।

बाणगंगा नगरपालिकामा आज बसेको जिल्ला स्तरीय अनुगमन तथा सिफारिस समितिले वाणगंगा नगरपालिकाका २ वडाहरुलाई पोषणमैत्री वडा घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी २०८० अनुसार वडा घोषणा सिफारिस गर्ने जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य संयोजक रहेको समितिको वैठक बसी सिफारिस गर्ने निर्णय गरिएको हो ।

बाणगंगा नगरपालिकाको वडा न. ५ र ८ ले पोषणमैत्री वडा घोषणाका लागि कार्यविधी अनुसार अनुगमन मूल्यांकन गर्दा तोकिएको मापदण्ड र सूचकहरु अनुसूची ४ पुरा गरेकाले वाणगंगा नगरपालिकालाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीले जानकारी दिनुभयो ।

पोषणमैत्री घोषणाका लागि वडाहरुले पोषणमैत्री स्वास्थ्य संस्था, बालबालिकाको शिक्षा, महिला तथा बालबालिकाको क्षेत्र, खानेपानी तथा सरसफाई क्षेत्र, कृषि विकास, पशुपंक्षी र शासकीय प्रवन्ध लगाएतका क्षेत्रमा तोकिएको लक्ष्य हासिल गरेको आधारमा बाणगंगा नगरपालिकाका ती वडाहरु घोषणा गर्न योग्य भएको हो । वडामा अपांगमैत्री शौचालय देखि स्तनपान कक्षको समेत व्यवस्था अनिवार्य गरिएको छ ।

वैठकमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालका अनुसार यहि असार ३० गते पोषणमैत्री वडा घोषणा गरिने बताउनुभयो । उहाँले विगतमा बालमैत्री स्थानीय शासन नगर घोषणा भईसकेकाले त्यसको दिगोपनामा नगरपालिकाले लाखौं लगानी गरीरहेकोले अन्य सूचकहरु कार्यान्वयनमा सहजता आएको जानकारी दिनुभयो ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले नगरको द्रुत विकासमा फरक तरिकाले काम गर्न खोजिएको बताउदै भौतिक पूर्वाधार संगै सामाजिक विकासको क्षेत्रमा धेरै लगानी गरेको जानकारी दिनुभयो । वडा घोषणा गर्नुपूर्व विषयगत कार्यालय र शाखाले अनुगमन गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८१ बुधबार ००:००  ८ : २९ बजे