५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

नगरबासीको उच्चतम हितमा काम गरिरहेका छौं : नगर प्रमुख अर्याल



बाणगंगा ।

बाणगंगा नगरको गतिविधिमा आधारित सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका प्रश्नहरुको सम्वोधन गर्दै नगर प्रमुख चक्रपाणी अर्यालले नगरबाट प्रवाह गरिने सेवा सुविधा प्रभावकारी र गुणस्तरीय बनाउन काम गरेको बताउनुभयो । बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख जवाफदेहीकर्ताको रुपमा नगर प्रमुख अर्यालले सेवाग्राहीको गुनासो र सुझावलाई सकारात्मक रुपमा लिइएको बताउदै नगरबासीको उच्चतम हितमा जोड दिईएको बताउनुभयो ।
बाणगंगा नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको सहजीकरणमा भएको कार्यक्रममा उपस्थित नगरवासिले विकास निर्माण, शिक्षा, विपन्न आवास, स्वास्थ्य विमा, टोल विकास संस्था र बडघरको भूमिका, छाडा गाई व्यवस्थापनका विषयमा प्रश्न राखेका थिए । सेवाग्राहीले नगरपालिकाले गरेका राम्रा कामको समेत प्रंशसा गरेका थिए ।
नगर प्रमुख अर्यालले नगरको समृद्धि र विकासका लागि रचनात्मक सुझावको अपेक्षा गर्दै नगरवासीलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा नगरपालिका निरन्तर लागिरहेको समेत बताउनुभयो । उहाँले प्रमाण विना तथ्यहिन बोलेका कुरामा भन्दा नगरको रचनात्मक काममा जोडिन नगरवासीलाई आग्रह गर्नुभयो । नगरबाट प्रवाह हुने सेवा सुविधामा सबै जनप्रतिनिधि र कर्मचारी एक भएर काम गरेको बताउदै कहि समस्या देखिएमा त्यसलाई सुधार गर्दैै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वार्षिक लक्ष्य अनुसारको नगरले भौतिक तथा वित्तिय प्रगती हासिल गरेको समेत बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा उपप्रमुख रिता कुमारी थारुले बोल्दै सेवा प्रवाहलाई सरल र सहज बनाउदै नगरमा सेवाग्राही नागरिकलाई सन्तुष्टि प्रदान गर्ने गरी काम गरेको बताउनुभयो ।
वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बार्षिक लक्ष्य अनुसार समयमै योजना र कार्यक्रमहरु सम्पन्न गर्नेगरी नगरवासीलाई सहजीकरण गरेको बताउनुभयो । नगरले गरेको कामको बारेमा बताउदै बित्तिय र भौतिक प्रगतिको बारेमा समेत जानकारी गराउनु भएको थियो । यस्तै उहाँले नगरबासिकाले उठाएका प्रश्नमा सम्बोधन गर्दै वडा तथा पालिका तहमा अल्पकालिन र दीर्घकालिन योजना बनाएर छाडा चौपायाको व्यवस्थापन समेत भइरहेको बताउनुभयो । उहाँले सामाजिक परिचालन मार्फत टोल विकास संस्था लगाएत सवै समुदाय र निकाय नगरको सामाजिक आर्थिक विकासमा हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । चालु आ.ब.०८०।८१ मा बिनियोजन बजेटको ८२.७४ प्रतिशत अर्थात १ अर्ब ७ करोड ३२ हजार १ सय १२ खर्च गरेको जानकारी दिनुभयो । चालु खर्चतर्फ ८५.५३ प्रतिशत अर्थात ६२ करोड ५२ लाख ४२ हजार ६५५ रुपैया र पुजीगत तर्फ ७८.९८ प्रतिशत अर्थात ४३ करोड ४७ लाख ८९ हजार ४५७ रुपैया खर्च गरेको अधिकृत मरासिनीले जानकारी दिनुभयो ।
यता नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका उपाध्यक्ष हरि अधिकारीले नागरिक प्रतिबेदन र बहिर्गमन प्रतिबेदन मार्फत कार्यालयको सेवा प्रवाह, राम्रा पक्ष तथा सुधार गर्नुपर्ने विषयमा सेवाग्राही नागरिकको समष्टीगत तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका शाखाका प्रमुखहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्षहरु, नगरवासी, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सागर विकले गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ असार २०८१ बुधबार ००:००  ७ : ३० बजे