२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

भारतीय टोलीको प्रशिक्षक बन्ने दिशामा गम्भीर, छाडे कोलकाता



एजेन्सी ।
भारतीय टोलीको नयाँ प्रशिक्षक चयन प्रक्रिया अन्तिम चरणमा पुगेको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का एक अधिकारीले जनाएका छन् । नवौँ टी–२० विश्वकपको समाप्तिसँगै प्रमुख प्रशिक्षक राहुल द्रविडको कार्यकाल सकिएको थियो ।

त्यसअघि नै बीसीसीआईले नयाँ प्रमुख प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार, बीसीसीआईले पूर्वखेलाडी गौतम गम्भीरलाई प्रमुख प्रशिक्षक बनाउने प्रक्रिया अघि बढाइसकेको छ ।

तर, आधिकारिक रूपमा यस विषयमा केही बताइएको छैन । गौतम गम्भीरले पनि यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । यसैसँग जोडिएको पछिल्लो घटनाक्रम अनुसार, गौतम गम्भीरले इन्डियन प्रिमियर लिग क्लब कोलकाता नाइट राइडर्सबाट बिदा लिएका छन् ।

बंगाल क्रिकेट संघका एक पदाधिकारीले पनि यो सूचनाको पुष्टि गरेका छन् । उनले पनि भारतीय टोलीको प्रमुख प्रशिक्षक बन्न नै गौतम गम्भीरले कोलकाता नाइट राइडर्स छाडेका हुन् । ती अधिकारीको नाम भने सार्वजनिक गरिएको छैन ।

गौतम गम्भीरको कोलकाता नाइट राइडर्स र इडेन गार्डेन्स स्टेडियमसँग गहिरो सम्बन्ध छ । उनी कोलकातालाई सन् २०१२ र सन् २०१४ मा आईपीएलको उपाधि चुमाउने टोलीका कप्तान पनि हुन् । त्यसपछि उनले सन् २०२४ मा उनले संरक्षकको भूमिकामा कोलकातालाई आईपीएलको उपाधि जिताएका थिए ।

बीसीसीआईका एक अधिकारीका अनुसार, गौतम गम्भीरले यसै महिनाको अन्त्यमा हुने श्रीलङ्का भ्रमणका क्रममा भारतीय टोलीको प्रमुख प्रशिक्षकको जिम्मेवारी समाल्ने छन् । बीसीसीआईका सचिव जय शाहले पनि श्रीलङ्का भ्रमणअघि नै भारतीय टोलीले नयाँ प्रमुख प्रशिक्षक पाउने बताएका छन् । तर, उनले व्यक्तिको नाम भने उल्लेख गरेका छैनन् ।

प्रकाशित मिति : २४ असार २०८१ आइतबार ००:००  १ : १५ बजे