१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

बोटबिरुवाको हेरचाह गर्ने तरिका



एजेन्सी ।
बगैँचाले वातावरण सुन्दर र स्वच्छ राख्छ । मौसमी तथा सदावहार बोटबिरुवाले घरको सौन्दर्य वृद्धि गर्ने हुनाले बगैँचालाई ठूला रुख, फूल हेजले विभाजन गरेर आकर्षक बनाउन सकिन्छ । मौसमी फूल, ग्रिन प्लान्टदेखि बाह्रमासे फूल लगाएर पनि बगैँचा आकर्षक बनाउन सकिन्छ । सूर्यको किरण कुन ठाउँबाट आउँछ, त्यसमा ध्यान दिएर रोप्नु उचित हुन्छ । बगैँचालाई आकर्षक बनाउने केही तरिका:

– फूल रोप्दा फूलको प्रजातिअनुसार दूरीको ख्याल राख्नुपर्छ । मौसमी फूललाई हेरचाह पनि गरिरहनुपर्छ ।

– फूलको बगैँचा मलिलो र उब्जाउ हुने जमिनमै बनाउनुपर्छ । बगैँचा बनाएपछि उक्त जमिनमा उम्रेको झारपात उखेल्नुपर्छ ।

– कुन मौसममा कस्तो फूल रोप्नेबारे अधिकांशलाई थाहा नहुन सक्छ । त्यसैले घरमा सधैँ आकर्षक देखिने मौसम र माटोसुहाउँदो फूल रोप्नुपर्छ । बगैँचामा १२ महिना फुल्ने र वार्षिक फुल्ने दुवैथरी फूल लगाउनुपर्छ । जसका कारण १२ महिना नै बगैँचामा फूल फुल्छ र घर आकर्षक देखिन्छ । यसका लागि नर्सरीमा राम्रोसँग बुझेर रोप्दा हुन्छ ।

– बगैँचामा थरीथरी रंगीन फूल लगाउँदा राम्रो हुन्छ । यसले बगैँचाको सुन्दरता पनि बढाउन सहयोग पुग्छ ।

– बगैँचालाई आकर्षक देखाउन काँटछाँटमा विशेष ध्यान दिनुपर्छ । फूलसँगै उम्रने झार हटाइदिनुपर्छ । झारका कारण फूलमा रोग लाग्ने जोखिम पनि हुन्छ । त्यसैले बगैँचाको फूलको झार केलाउनु, मल हाल्नु, गोडमेल र काँटछाँट गर्नुपर्छ ।

– बगैँचामा ३० देखि ६० दिनमा सुकेको पात निकालेर फ्याल्नुपर्छ, ती पातलाई मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । गुणस्तरीय बिरुवाको छनोट, मौसम र हावापानीसुहाउँदो बिरुवा लगाउने, कुहिएको पात र फूललाई व्यवस्थापन गर्नुपर्छ ।

मुडफ्रेस
बिरुवा रोप्ने, गोड्ने, काँटछाँट गर्ने, पानी हाल्नेलगायत कामले शारीरिक अभ्यास गराउँछ । बिहानको कलिलो घामबाट प्राप्त हुने भिटामिन डी हड्डी मजबुत बनाउन र रोगप्रतिरोधी क्षमता बढाउन महत्वपूर्ण हुन्छ । तसर्थ, बगैँचामा बिहानको समय बिताउनु राम्रो हुन्छ ।

बगैँचामा समय बिताउँदा मानिसले तनाव कम महसुस गर्छन् । दैनिक तनाव, व्यस्तता र चिन्ताबाट केही समयका लागि भए पनि छुटकारा पाइन्छ । खुला स्पेसमा स्वच्छ हावा लिन पाउँदा आनन्ददायी महसुस हुन्छ ।

बिरुवाहरूको गोडमेल गरेर बगैँचालाई चिटिक्क राख्नु आफैँमा सिर्जनात्मक काम हो । प्रकृतिसँग समय बिताउँदा बेग्लै ऊर्जा प्राप्त हुन्छ । सकारात्मक ऊर्जा र सोच विकास हुन्छ ।

प्रकाशित मिति : २२ असार २०८१ शुक्रबार ००:००  २ : ०६ बजे