२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

अबैध डल्लेच्याउ कपिलवस्तुका बजारमा व्यापक बिक्री, विषादीको मात्रा अधिक



हरि अधिकारी, चारनम्बर ।

कपिलवस्तुको बजारमा अवैध डल्लेच्याउ व्यापक मात्रामा भित्रिएको छ । स्थानीय हाटबजारमा विक्री भइरहेको डल्लेच्याउ उपभोग गर्न योग्य नभएको पाइएको छ । डल्लेच्याउ सिमा नाकाका भारतीय बजारबाट अवैध रुपमा नेपाली बजारमा भित्रिएको हो । उक्त डल्लेच्याउ भन्सार चेकजाँच नगरी खुला नाकाबाट चोरी पैठारी गरी भित्रिएको पाइएको छ । खुल्ला सिमा नाकाका कारण जिल्लाको विभिन्न स्थानबाट डल्लेच्याउ बजारमा भित्रिएपछि सरकारी निकायको सकृयता देखिएको छ ।

नेपाल प्रहरी र शसस्त्र प्रहरीले सिमानाकामा निगरानी बढाएपनि यीनै नाकाबाट दिनँहु डल्ले च्याउ विना भन्सार चोरी निकासी गरी नेपाल भित्रिएको छ । यसरी बजारमा भित्रीएको डल्ले च्याउहरुको क्वारेन्टाइन परिक्षण गर्दा जनस्वास्थ्यलाई प्रतिकुल असर गर्ने देखिएको छ । प्लान्ट क्वारेन्टाइन कपिलवस्तुले बजारमा पाइएका डल्लेच्चाउको क्वारेन्टाईन परिक्षण गर्दा विभिन्न केमिकल रसायनहरुबाट उपचारित पाइएकाले यसको निगरानी बढाइएको कार्यालयका प्रमुख बुद्धिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

तरकारी पसलदेखि स्थानीय हाटबजार र ठुला मार्टहरुमा समेत उक्त च्याउ खुलेयाम विक्री भइरहेको छ । बजारमा त्यसको माग पनि बढी रहेको व्यापारीहरु बताउछन् । खादा स्वादीलो हुने उक्त डल्ले च्याउको विषादी परिक्षण भने भएको पाइदैन । अवैध रुपमा चोरी निकासी गरी नेपाल भित्रिएपछि त्यस खाद्य बस्तुको परिक्षण गर्न कठिनाई हुने गरेको छ, तर पनि प्लान्ट क्वारेन्टाइन कपिलवस्तुले डल्ले च्याउको बजारबाट नमुना संकलन गरी खाद्य परिक्षण गरेको छ ।

क्वारेन्टाइन कार्यालय कपिलवस्तुका प्रमुख भट्टराईले कपिलवस्तुका स्थानीय हाटबजारमा डल्ले च्याउ र उखु प्रसस्त मात्रामा देखिएको बताउनुभयो । यी कृषि बस्तुहरुको चोरी निकासी नियन्त्रणको लागि क्वारेन्टाइन सरोकारवाला निकायहरुको संयुक्त निगरानी र अनुगमन गर्नुपर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

उखु पनि प्रशस्त मात्रामा स्थानीय बजारमा भारतबाट अवैध रुपमा नेपाल भित्रिएको छ । जसका कारण राजश्व संगै स्वास्थ्यमा नकारात्मक असर देखिन्छ ।

प्रकाशित मिति : २० असार २०८१ बुधबार ००:००  ८ : ०३ बजे