२१ असार २०८१, बिहिबार | Thu Jul 4 2024

कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, सुरुमा ओली प्रधानमन्त्री बन्ने



संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ। दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।

सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट पुगेका छन् । आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ,ती नेताले भने।

ती नेताका अनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्। त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने सम्भावना छ।

एमालेले प्रधानमन्त्री अर्थमन्त्रीसहितका मन्त्रालयहरू पाउने भएको छ भने काँग्रेसले गृहसहित को मन्त्रालय पाउने भएको छ। संविधान संशोधन रहेकाले दुई तिहाइ पुर्‍याउन संसदका साना दलहरू लोसपा र राप्रपालाई पनि सरकारमा ल्याउने तयारी छ । दुई तिहाइ पुर्‍याउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ।

सहमतिमा प्रदेश सरकारको पनि बाँडफाँट गरिएको छ । जसअनुसार, एमालेले कोसी, लुम्बिनी र कर्णाली पाउने छ भने काँग्रेसले बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गर्ने छ । मधेस प्रदेशमा मधेसकेन्द्रीत दललाई नेतृत्व दिने सहमति छ ।


प्रकाशित मिति : १९ असार २०८१ मंगलबार ००:००  ७ : ०५ बजे