१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

अर्गानिक नगर बनाउन सकिन्छ : प्रदेश सांसद पन्थी



कपिलवस्तु ।
बाणगंगा नगरलाई अर्गानिक नगरको रुपमा विकास गर्नुपर्नेमा प्रदेश सभा सदस्य विष्णु पंथीले जोड दिनुभयो । प्रदेश सभा सदस्य पंथीले नेपाली अर्थतन्त्रमा धान बालीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । प्रदेश सांसद पंथीले कृषि नीति मार्फत स्थानिय उत्पादनमा जैविक मलको प्रयोग, आम किसानलाई सचेतना, अर्गानिक उत्पादन देखि बजारीकरणमा टेवा पुर्याउने काम गर्नुपर्ने बताउनु भयो । कृषि उत्पादनको लागि वृहत्तर बाणगंगाको सिचाईबाट किसानले प्रत्यक्ष लाभ लिन सक्नेमा जोड दिनुभयो । प्रविधी मैत्री कृषि, धान उत्पादनमा वृद्धि मूल नाराका साथ मनाउन लागिएको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ को अवसरमा बाणगंगा नगरपालिकाद्धारा वडा नं. ७ को झरुवामा आयोजित धान रोपाई कार्यक्रममा यस्तो धारणा राख्नु भएको हो ।
धान दिवसको अवसरमा बाणगंगा नगरपालिकाले १० हजार रुपैया नगद, सम्मान पत्र सहित उत्कृष्ट ५ जना किसानलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा सत्यनारायण थारु, यमलाल भुसाल, मिन बहादुर सेन, दिनामणी बेल्बासे र इन्द्रावती थारु रहनु भएको बाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेस बहादुर थापाले जानकारी दिनु भयो ।

कार्यक्रममा बाणगगा नगरपालिका नगर प्रमुख चक्रपाणी अर्याल, नगर उपप्रमुख रिता चौधरी, वडा नं. ७ का वडा अध्यक्ष विष्णु गिरीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बाणगंगा नगरपालिकाको आयोजना तथा जनसेवा कृषि सहकारी संस्था लि.को समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

पञ्चे बाजा, गाजा , उत्साह सहित आयोजित कार्यक्रम जनसेवा कृषि सहकारी संस्थाका अध्यक्ष टोप बहादुर थापाको अध्यक्षता, नगरका कृषि शाखा प्रमुख लेस बहादुर थापाको स्वागत मन्तब्य र बाणगंगा नगरपालिकाका कृषि शाखा अधिकृत धनिराम आचार्यको संचालनमा सम्पन्न भएको बाणगंगा नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १६ असार २०८१ शनिबार ००:००  ११ : ०९ बजे