१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

वाणगंगा वडा न. २ को सार्वजनिक सुनुवाई, वडावासी सन्तुष्टी



वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न. २ को सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी वडावासीहरुले वडाको कामप्रति आफुहरु सन्तुष्टी भएको कुरा व्यक्त गरेका छन् । वडा कार्यालयले आर्थिक वर्ष २०८०।८१ मा सम्पन्न योजना तथा कार्यक्रमको प्रगतीबाट वडाबासी सन्तुष्टी भएको सेवाग्राहीले बताएका हुन् । वडा अध्यक्ष तथा नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले वर्षभरीको प्रगती विवरण सुनाउदै वडाको समग्र पूर्वाधार निर्माण, सामाजिक विकासका कार्यक्रम, वाणगंगा नगरस्तरीय योजना, प्रदेश स्तरीय योजना र संघबाट सम्पन्न योजनाबाट समृद्ध वडा निर्माणमा उल्लेखीय उपलब्धी हासिल भएको बताउनुभयो । उहाँले आ.ब.२०८०।८१ को वडाको १ करोड १८ लाख ८६ हजार ५ सय रुपैया बजेट सिलिङबाट शतप्रतिशत वडा स्तरीय योजनाहरु सम्पन्न गरेको जानकारी दिनुभयो । सेवाग्राहीको गुनासा र प्रश्नको जवाफ दिदै वडा अध्यक्ष पौडेलले वडावासीको साथ र सहयोगले बाँकी अवधीमा सवै समस्याहरु सम्वोधन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले राम्रा कामको निरन्तरा दिदै वडाले गुनासाहरु कम आउने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले नगरपालिकाले व्यक्तिगत आंकाक्षाहरु पुरा गर्न नसक्ने बताउदै समग्र नगरवासीमा खुशी ल्याउने विषयलाई प्राथमिकतामा राखेर नगरको नीति, कार्यक्रम र बजेटमा समावेश भएको बताउनुभयो । उहाँले विलिभ वाणगंगा, ब्राण्ड वाणगंगाको अभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । वडा न. २ पहिलो प्रवेश द्धार भएकाले पूर्ण सरसफाईको अभियानको शुरुवात यही वडाबाट हुनुपर्ने बताउनुभयो । छाडा गाईको व्यवस्थापनमा उल्लेखीय प्रगती भएको बताउदै छाडा गाई व्यवस्थापनमा सवैको दायित्व हुने उहाँले बताउनुभयो । जसलाई जे जिम्मेवारी तोकिएको छ, ती सवै जिम्मेवारी पुरा गर्यौ भने कहि कतै गुनासा र समस्या नआउने बताउनुभयो ।
सेवाग्राहीले उठाएका जिज्ञासा, प्रश्नको जवाफ दिदै रासायनिक मलखादको समस्या नगरको मात्र समस्या नभएको बताउनुभयो । शैक्षिक योजनालाई पुर्नलेखन गरी शिक्षा क्षेत्रमा व्यापक सुधारको खाँचो भएको उल्लेख गर्दै पञ्चकोणिय सिद्धान्तमा काम गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले लिएको कक्षा ८ को परिक्षा र एसईइको नतिजा राम्रो नआएको बताउदै यसका सम्बद्ध सवै निकाय जिम्मेवार हुनुपर्ने प्रशासकीय अधिकृत मरासिनीले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य र सुरक्षा लगाएतका प्रश्नमा पिपरा अस्पतालका डा. तेजेन्द्र प्रसाद थारु, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक गोपालजंग रायमाझीले जवाफ दिनुभएको थियो । कार्यक्रममा वडावासीले कृषि, सिंचाई, मलखाद, फोहोरमैला व्यवस्थापन, नाला निर्माण, डुबानको समस्या, विद्युत, उपभोक्ता समितिको काम, शैक्षिक गुणस्तर लगाएतका विषयवस्तु उठान गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रम मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारीको संचालन, पत्रकार बाबुराम रायमाझीको स्वागतमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता सम्पन्न भएको थियो । वडा अध्यक्ष पौडेलले वर्षायाममा पनि वडावासी, टोलवासी, सरोकारवाला निकायको उत्साहजनक सहभागीताको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १६ असार २०८१ शनिबार ००:००  ७ : ३१ बजे