१७ असार २०८१, आइतबार | Sun Jun 30 2024

बाणगंगाको १ अर्ब ६२ करोड ४६ लाख बजेट सार्वजनिक



कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । नगरपालिकाको १५ औं नगर सभामा नगर उप प्रमुख रीता कुमारी चौधरीले आगामी आर्थिक बर्ष २०८१।८२ का लागि प्रस्तुत गर्नुभएको बजेट पारित भएपछि एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ ।

बाणगंगाले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटमा आर्थिक बिकास तर्फ ७ करोड २७ लाख ७४ हजार, सामाजिक विकास तर्फ ९१ करोड ११ लाख ५९ हजार, भौतिक पुर्वाधार तर्फ ४१ करोड ६९ लाख ९९ हजार विनियोजन गरेको छ । त्यस्तै वन वातावरण तथा विपद व्यबस्थापन तर्फ २ करोड २ लाख १० हजार, सुशासन तथा संस्थागत विकास तर्फ २० करोड ३५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ।

नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रमका प्रमुख अतिथि भुमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नगरको बजेट उत्कृष्ट रहेको भन्दै कार्यान्वयन महत्वपुर्ण पाटो रहेको बताउनुभयो । मन्त्री अधिकारीले जिल्लाको विकास लागि संघबाट विभिन्न क्षेत्रका लागि बजेट विनियोजन भएकाले आफु जिल्लाको विकासका लागि तल्लीन रहेको बताउनुभयो । उहाँले बाणगंगाको बजेटले मात्र नगर समृद्ध नहुने भन्दै संघ प्रदेशबाट पनि पहल भईरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले बजेट कार्यान्वयनका लागि नगरपालिका मात्र नभई सम्पुर्ण नगरवासीहरुले अपनत्व लिनुपर्ने बताउनुभयो । त्यस्तै विभिन्न राजनीतिक दल, संघ संस्था लगायतका प्रमुख तथा प्रतिनिधिहरुले मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

बाणगंगाका मेयर चक्रपाणि अर्यालले आगामी आर्थिक बर्षको बजेट निश्पक्ष र सफलताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका मेयर अर्यालले निकै मेहनतका साथ विभिन्न सरोकारवालाहरुसंग सल्लाह सुझाव संकलन गरि सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि सबैकोे साथ अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाले उत्कृष्ट उद्यमी, कर्मचारी, पत्रकार, सुरक्षा निकाय, रोजगारीकर्ता, नगरपालिकाको लोगो डिजाईनकर्ता लगायतलाई नगद राशि, खादा सहित सम्मान समेत गरेको छ ।

नगरपालिका उप प्रमुख रीता कुमारी चौधरी, सबै वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि, कार्यपालिका सदस्य, सम्पुर्ण कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको स्वागत मन्तब्य तथा नगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नं ७ का वडाध्यक्ष बिष्णु गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : ११ असार २०८१ सोमबार ००:००  १० : ३५ बजे