६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

शिवराज नगरपालिकाको १ अर्ब २४ करोड बजेट सार्वजनिक



चन्द्रौटा ।

शिवराज नगरपालिकाले अगामी आर्थिक वर्ष २०८१।८२ का लागि एक अर्ब २४ करोड बराबरको बजेट ल्याएको छ ।

शिवराज नगरपालिका वडा न.५ को कार्यालयमा आइतबार आयोजित नगर सभा १५ औं अधिवेशनको बैठकमा नगर उपप्रमुख शिवकुमारी थारुले आगामी वर्षका लागि १ अर्ब २४ करोड ७९ लाख ५६ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

उनकाअनुसार चालु तथा प्रशासनिक खर्चतर्फ १२ करोड १७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २० करोड ६८ लाख रुपैया बजेट विनियोजन गरिएको छ । सामाजिक सुरक्षा तर्फ ३० करोड रहेको छ ।

विनियोजित बजेटमा आय श्रोतमा आन्तरिकतर्फ ८ करोड, राजश्व बाँडफाँटबाट १८ करोड, अन्तर सरकारी वित्ततर्फ संघीय सरकार र प्रदेशले हस्तान्तरण गर्ने तर्फ १८ करोड लगाएत, संघीय सशर्त अनुदान ३८ करोड ५७ लाख र प्रदेश सरकारबाट १ करोड ४० लाख लगाएतबाट आम्दानी हुने अनुमान गरिएको छ ।

नगरसभाको पहिलो बैठकमा नगर प्रमुख अजय थापाले अगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम पारित भएसंगै उपप्रमुखले बजेट प्रस्तुत गरेकी हुन् ।
नगरप्रमुख थापाले निशुल्क तथा अनिवार्य शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता, कृषि, पूर्वाधार विकास, सशक्तिकरण जस्ता क्षेत्र प्राथमिकता साथ अघि बढाएको जानकारी दिए । नगरपालिकाले कृषि, पशु, स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, सामाजिक विकास, सहकारी तथा आर्थिक विकासको कार्यक्रमहरु समावेश गरेको छ ।
सोही अवसरमा नगरपालिकामा उत्कृष्ट कार्य सम्पादन गरेका ५ न. वडा अध्यक्ष नेत्र प्रसाद वेल्वासे, लेखा अधिकृत रामचन्द्र मरासिनी, कृषि शाखा प्रमुख ताराचन्द्र चौधरी र पशु शाखा प्रमुख धनेश्वर खनाललाई पुरस्कृत गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।

नगर सभा संचालन सम्बन्धी आचार संहिता वडा न.६का वडाअध्यक्ष महेताव आलम खाँले गरेका थिए भने सहजीकरण योजना शाखा प्रमुख प्रेम ओलीले गरेका थिए ।

प्रकाशित मिति : १० असार २०८१ आइतबार ००:००  ७ : २४ बजे