२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

अनुसन्धान भन्छ– तीव्र दौडनेको आयु आममानिसभन्दा ज्यादा



एजेन्सी ।
नियमित दौड स्वस्थ जीवनका लागि महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर, अति व्यायामले स्वास्थ्यमा नकारात्मक असर गर्न सक्छ भन्ने तथ्य यसअघिका अध्ययनले देखाएका थिए । ब्रिटिस जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित नयाँ अध्ययनले तीव्रगतिमा दौडनेहरूको आयु आमसर्वसाधारणको दाँजोमा लामो हुने देखाएको छ । अनुसन्धानकर्ताले चार मिनेटभन्दा कम समयमा एक माइल कुद्न सक्ने क्षमता भएका धावकबारे अध्ययन गरेका थिए । जसमा उनीहरूको आयु आमजनसंख्याको दाँजोमा पाँच वर्ष लामो हुन सक्ने देखियो ।

स्पोर्टस् कार्डियोलोजिस्ट तथा हर्ट, एक्सरसाइज एन्ड रिसर्च ट्रायल्सका प्रमुख आद्रे ला गार्ची र उनको टिमले चार मिनेटभन्दा कम समयमा एक माइल दौडन सक्ने दुई सय पुरुष धावकहरूको डाटा अध्ययन गरेको थियो । सन् १९२८ देखि १९५५ सम्मको अवधिमा जन्मिएका २ सय धावकबारे अनुसन्धान गरिएको हो । जसमध्ये ६० जना अर्थात् ३० प्रतिशतको निधन भइसकेको छ । एक सय ४० जना अहिले पनि जीवित छन् ।

जतिवेला उनीहरू चार मिनेटभन्दा कम समयमा दौडन्थे, त्यतिवेला उनीहरूको औसत उमेर २३ वर्ष थियो । अनुसन्धानकर्ताहरूका अनुसार यस समूहमा सहभागी भएकाहरूको औसत आयु ७३ वर्ष हो । जो, बाँचेका छन्, उनीहरूको औसत आयु ७७ छ ।

ती धावक विभिन्न महादेशका २८ देशबाट हुन् । ‘हाम्रो अनुसन्धान कसरी अभ्यासले राम्रा धावकहरूलाई दीर्घकालीन रूपमा प्रभावित गरेको हुन्छ भन्नेमा रह्यो,’ ला गिर्चीले भने ।

अध्ययनको निष्कर्ष
प्रायः अवस्थामा जो चार मिनेटभन्दा कम समयमा एक माइल दौडने क्षमता राख्थे, उनीहरूको आयु अपेक्षित औसत आयुभन्दा पाँच वर्ष बढी रहेको पाइयो । ती मानिस जो, १९५० को दशकमा चार मिनेटभन्दा कम समयमै एक माइल दौडन सक्थे, उनीहरू आमजनसंख्याको दाँजोमा नौ वर्ष बढी बाँचेका छन् । १९६० को दशकमा चार मिनेटभन्दा कम समयमै एक माइल दौडिएका तुलनात्मक रूपमा पाँच वर्ष ६ महिनाभन्दा बढी बाँचेका छन् । १९७० को दशकमा यसरी दौडिएका तीन वर्षभन्दा बढी बाँचेका छन् ।

ला गिर्चीका अनुसार साइकल चलाउनेहरू पनि बढी बाँचेको देखिन्छ । टुर दी फ्रान्सजस्ता प्रतिस्पर्धामा सहभागी हुने साइक्लिस्टहरूको औसत उमेर पनि आमजनसंख्याको दाँजोमा धेरै छ ।

थप अध्ययन जरुरी  : ट्रयासी ज्यास्लो, स्पोर्टस् मेडिकल स्पेसलिस्ट
अमेरिकी बालरोग विशेषज्ञ तथा स्पोर्टस् मेडिकल स्पेसलिस्ट ट्रयासी ज्यास्लो यस विषयबारे थप अनुसन्धान र व्याख्या हुन जरुरी रहेको बताउँछिन् । उनले यसअघिका अध्ययनभन्दा यसको नतिजा फरक देखिएको बताइन् । ‘यसअघिका अध्ययनले अति व्यायाम गर्दा मुटुसम्बन्धी समस्या बढ्न सक्न वा यसको कार्यसञ्चालनमै परिवर्तन आउन सक्ने संकेत गरेका थिए । यो अध्ययन फरक भए पनि केवल धावकमा मात्रै केन्द्रित छ । यसले अन्य खेलका खेलाडीलाई समावेश गरेको छैन,’ उनले भनिन्, ‘यसका लागि ठूलो संख्यामा अन्य खेलका खेलाडीमा समेत अनुसन्धान गरेर त्यसको नतिजालाई तुलना गर्न आवश्यक देखिन्छ ।’

‘यही अध्ययनलाई हेरेर मानिसलाई आफ्नो व्यायामको शैलीलाई बदल्न सुझाव दिन सकिँदैन । तर, यसअघि अति व्यायाम गर्दा जस्ता जोखिम रहने ठानिएको थियो, त्यति जोखिम नहुने यसले देखाउँछ । तर, यसबारे अझै अनुसन्धान जरुरी छ । माथिल्लोस्तरका खेलाडीबाट प्रेरित भएर आफ्नो व्यायामलाई निरन्तर जारी राख्नु राम्रो हुन्छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ६ असार २०८१ बुधबार ००:००  २ : ०७ बजे