२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

रघुजी पन्तको प्रस्ताव- भारतीय सीमामा काँडेतार लगाएर पासपोर्ट प्रणालीमा जाऔँ



काठमाडौं ।
नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय सीमामा काँडेतार लगाउन माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले तराईंमा असुरक्षा बढेको भन्दै सिमानामा काँडेतार लगाएर विस्तारै पासपोर्ट प्रणालीमा जानुपर्ने बताएका हुन् । नेपाल-भारतबीच अहिले खुला सिमाना छ ।

‘केही दिनदेखि तराईंमा दिउँसै मान्छे मारिएका छन् । दिउँसै गोली हानिएका समाचार आएका छन् । मूल कारण खुला सिमाना हो,’ पन्तले भने, ‘खुला सीमालाई स्वतन्त्र देशले नियन्त्रण गर्नैपर्छ । हामी एकैचोटी नसकौंला तर, अचेल राष्ट्रिय परिचयपत्र दिन थालिएको छ । यताबाट जाँदा पनि नागरिकता हेर्न सकिन्छ । उताबाट आउँदा पनि भारतीयसँग आधारकार्ड हेर्न सकिन्छ ।’

विस्तारै भारतसँग पासपोर्ट प्रणालीमा जानुपर्ने उनले बताए । ‘काँडेतार लगाएर विस्तारै सीमालाई व्यवस्थित गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ,’ पन्तले भने, ‘यसको लागि सशस्त्र प्रहरीलाई साधन र स्रोतले सम्पन्न बनाउनुपर्छ । जहाँ सशस्त्र प्रहरी बसेको छ । त्यहाँ सीमाको सुरक्षा भएको छ ।’

तराईंको सुरक्षाको लागि आन्तरिकतर्फ नेपाल प्रहरी र सीमामा सशस्त्र प्रहरीलाई व्यवस्थित हिसाबले खटाउनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ६ असार २०८१ बुधबार ००:००  २ : ०१ बजे