काठमाडौं ।
समुद्री सतहबाट ९ सय मिटर अग्लो पहाड । जहाँ पुग्न अनेकौं कठीन घुम्ति र उकालो चढ्नुपर्छ । पुग्नै सकस लाग्ने यहाँ व्यवसायिक तरकारी खेतीका उर्जावान हातहरु भेटिन्छन् ।
भिरालो जग्गा, मान्छेसमेत अडिन नसकिने भूगोल, प्रयाप्त पानीको सुविधा नभएको पहाडको चुचुरोमा अवस्थित छ, धादिङको बेनिघाट–रोराङ गाउँपालिका ७ माथिल्लो धुसा ।
पौरखी हातहरु भए जे पनि गर्न सक्ने रहेछन् भन्ने उदाहरण भेट्न सकिन्छ यहाँ । माथिल्लो धुसाका ५४ बर्षीय लोक बहादुर श्रेष्ठ व्यवसायिक तरकारी खेतीमा तल्लिन छन् । श्रेष्ठ परिवारले ०४७ सालदेखि नै तरकारी खेती गर्दै आएका छन् । घरखर्चो यहीँबाट चलाउँदै आएका श्रेष्ठ पछिल्ला तीन बर्षदेखि झनै व्यवसायिक बनेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई धादिङको तरकारी जोनले श्रेष्ठलाई व्यवसायमा थप उर्जा थपेको छ । सरकारी तवरबाट सहयोग पाए किसानलाई हौसला मात्र थप्दैन् व्यवसायिक बन्न पनि उत्प्रेरणा दिन्छ भन्ने उहादरण हुन् श्रेष्ठ ।
तरकारी जोनबाट अनुदान प्राप्त गरेपछि श्रेष्ठमा थप उत्साह थपेको छ । आव ०७९/०८० मा ८५ प्रतिशत अनुदानमा उनले पोखरी निर्माणको लागि १ लाख ५० हजार अनुदान पाएको तरकारी जोनका सब-इन्जिनियर सन्तोष दनैले बताए ।
उक्त पोखरी निर्माण पछि थप सहजता आयो । घरमा खर्च गरिने पानीलाई उनले वरपर घरबाट समेत खेर गइरहेको पानीलाई उनले संकलन गर्दै सदुपयोग गरिरहेका छन् । जसोतसो ल्याइएको खानेपानीलाई समेत उनले पोखरीमा संकलन गर्दै सिंचाईको काम गर्दै आएका छन् ।
‘सिंचाई सुविधा नहुँदा यहाँ निकै समस्या छ, तरकारी जोनबाट पक्की पोखरी बनाउन अनुदान पाए, त्यसपछि सहज भएको छ’, उनले सुनाए ।
यहाँ हिउँदमा अत्याधिक चिसो हुन्छ । चिसोको कारण तरकारी खेती गर्न समस्या छ । श्रेष्ठ पछिल्लो समय टनेल मार्फत तरकारी खेती गर्ने योजनामा छन् ।
श्रेष्ठले दुई वर्ष अघिबाट नयाँ तरिकाले खेती गर्न थालेका हुन् । उनले ‘प्लाष्टिक टनेल’ बनाएर तरकारी खेती गर्न थालेका छन् । बेमौसमी खेती गर्न मिल्ने, रोग र किराको संक्रमण नहुने भएकाले यसरी खेती गर्न थालिएको उनले बताए । ‘बेमौसमी तरकारी लगाउँदा मूल्य पनि धेरै पाइन्छ, सिजनल तरकारीको मूल्य नै पाइँदैन’ उनले भने ‘व्यवसायिक रुपमै खेती गर्ने हो भने त टनेल चाहिँदो रहेछ ।’
श्रेष्ठले सञ्चालन गरेको लोककल्याण कृषि तथा पशुपन्छी फार्ममा झण्डै १० वटा ठूला टनेल (प्लाष्टिक घर) रहेका छन् । टनेलभित्र गोलभेँडा, घिरौँला, बोडी, करेला लगायतका मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ ।
लहरेबालीका लागि स्थायी प्रकृतीको बनाइएको टनेलभित्र प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिंचाई गर्ने व्यवस्था मिलाइएको उनी बताउँछन् । उनले उक्त तरकारी खेतीमा गाईभैसीको गहुँत संकलन गरेर बिषादीको रुपमा प्रयोग गर्ने गर्दछन । खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनको भनाई छ ।
उनको कृषि फर्मलाई टनेल निर्माणमा तरकारी जोन धादिङले सघाएको छ । चालु आव ०८०/०८१ मा उनले तरकारी जोनबाट ५ वटा टलेन निर्माणका लागि ५० प्रतिशत अनुदानमा तीन लाख २० हजार बराबरको रकम पाएका छन् ।
श्रेष्ठले आफ्नो १८ रोपनी जग्गामा तरकारी लगाउँछन् । उनले मौसमी र बेमौसमी तरकारी खेती गर्छन् । उनले लौका, गोलभेँडा, बोडी, घिउँ सिमी, अखबरे खुर्सानी, बन्दागोभी लगाउने गर्छन् । सिजनमा दुई दिनमा एक सय ४० क्यारेट गोलभेँडासम्म उनले बच्ने गर्छन् ।
उनले सबै खर्च कटाएर बार्षिक ४ लाख आम्दानी गर्छन । उत्पादित तरकारी उनले चरौँदी लैजान्छन् । त्यहाँबाट उनले काठमाडौं, नारायणगढ, चितवन लगायतका बजारमा समेत निर्यात गर्ने गरेका छन् ।
प्रतिक्रिया