दाङ ।
तिलकुमारी पुनले घोराही उपमहानगरपालिका-१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छिन्। ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी हुन्। चालिस वर्षीया पुनको घरमा बुवा, आमा, दाइ र आफूसहित दुई दिदीबहिनी छन्। आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन्।
विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ सरेकी पुनले घोराही-१३ मा सञ्चालन गरेको व्यवसायबाट प्रशस्त आम्दानी गर्दै आएकी छिन्। सानै उमेरदेखि अल्लो उद्यममा लागे पनि व्यावसायिकरुपमा विसं २०७३ देखि लागेको पुनले जानकारी दिइन्। उनका अनुसार अहिले उद्योगमा ३५ जना बढी स्थानीय महिलाले रोजगार पाएका छन्।
उद्योगमा आबद्ध महिला आजभोलि सेवार खोलामा घरेलु प्रविधिबाट प्रशोधन गर्नका लागि जंगलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्नेलगायत काम गर्दै आएका छन्। यी सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुन्छ।
उद्योगमा काम गर्दै आएका महिलालाई उद्योगका प्रमुख तिलकुमारीले आठ घण्टा काम गरेबापत दैनिक पाँचसय रूपैयाँ दिने गरेको बताइन्। उनले आवश्यक कच्चापदार्थ दार्चुला, अछाम, बाजुराबाट ल्याउने गरेको उनको भनाइ छ। आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि रहेको बताउँदै उनले वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्दै आएको जानकारी दिइन्।
अल्लोको कपडामात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी पुनले बताइन्। ‘कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ’, उनले भनिन्, ‘धागो दाङसहित जिल्ला बाहिर बिक्ने गरेको छ।’ तयारी कपडा पनि राम्रो बिक्री हुने गरेको भन्दै अल्लोको धागो काठमाडौं र भारतसम्म पठाउने गरिएको उनले जानकारी दिइन्।
‘पहिले घरधन्दामै दिन बित्थ्यो’, अर्का उद्यमी मनमाया रोकाले भनिन्, ‘अहिले घरको सबै काम सकेर पनि उद्यमले दिएको रोजगारले राम्रो आम्दानी भइरहेको छ।’ ७० वर्षीया मनमाया आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएकोे बताइन्। बसेर काम गर्दा धेरै दुःख नहुने उनको अनुभव छ।
घरमै खाली बसिरहनुभन्दा आफ्नो खर्च आफै काम गरेर जुटाउन सफल भएको भन्दै रोकाले खुसी व्यक्त गरिन्। उनका अनुसार उद्योगमा अल्लोबाट कोट, ब्याग, जुत्ता, सललगायत सामग्री पनि उत्पादन हुने गरेको छ।
अल्लोको धागोलाई सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको अल्लो उद्योगमा काम गर्दै आएकी घोराही-१८ का भूमिका रोकाले बताइन्। आजभोलि छोराछोरीको वार्षिक परीक्षा सकिएको हुँदा खाली समयमा यही उद्योगमा काम गर्दै आएको उनको भनाइ छ।
खाली समयको पनि सदुपयोग हुने र कमाइ हुने हुँदा आफूजस्ता धेरै स्थानीय महिलालाई सहज भएको रोकाले बताइन्। उनका अनुसार देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका उद्यमीले अल्लोका कपडा लैजाने गर्छन्।
उद्योगमार्फत अन्य दिदीबहिनीलाई पनि खाली समयको सदुपयोग गर्दै स्वरोजगारमा जोड्न पाएका पुनको भनाइ छ। उद्योगमा काम गर्दा आर्थिक आम्दानी हुनुका साथै खाली समयको समेत सदुपयोग भइरहेको उद्योगमा सहभागी महिलाको भनाइ छ।
अर्काको देशमा दुःख पाउनुभन्दा स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको पुनले बताइन्। महिलालाई स्वरोजगार बनाउन स्थानीय सरकारले विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन्। -रासस
प्रतिक्रिया