तुलसीपुर ।
कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ। वडाले निर्माण गरेको नयाँ भवनमा स्तनपान कक्ष स्थापना गरिएको वडाध्यक्ष मोहन पौडेलले बताए।
जिल्लाका १०० वडामध्ये तुलसीपुर–१३ ले पहिलोपटक उक्त स्तनपान कक्ष स्थापना गरेको वडाध्यक्ष पौडेलले दाबी गरे। ‘कर्मचारी र सेवाग्राहीका बच्चाबच्चीलाई स्तनपान गराउन निकै समस्या हुने गरेको छ, त्यसैले सेवाग्राहीमैत्री कार्यालयले यसरी स्तनपान कक्ष स्थापना गर्नुपर्छ’, उनले भने, ‘त्यसैले हामीले वडामा पनि यो कक्ष स्थापना गरेका हौँ।’
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सरकारी, गैरसरकारी, वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको २ वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउनका लागि पनि स्तनपानकक्षको व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ।
४३ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो। वडा कार्यालयका लागि चारकोठे नयाँ भवन निर्माण भएको हो। तुलसिीपुर–१३ मा ६ हजार जनसङ्ख्या रहेको छ।
प्रतिक्रिया