१४ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025

पूर्वराजा शाहले गरे पृथ्वीनारायण शाहको सालिक अनावरण



कपिलवस्तु , मायादेवी अनलाइन ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गरेका छन् । ज्ञानेन्द्रले शिवराजन नगरपालिकाकाद्धारा २५ लाखको लागतमा निर्माण गरिएको सालिकको शनिबार अनावरण गरेका हुन् ।

राप्रपाबाट शिवराज नगरपालिकाको मेयरमा निर्वाचित अजय थापाले त्यहाँ पृथ्वीनारायण शाहको सालिक निर्माण गरेका थिए । पूर्वराज शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुरगन्ज लगायतका स्थानमा समेत भब्य स्वागत गरिएको छ ।

यसअघि पूर्वराज शाहले खरैन्द्रपुरस्थित बालहंस साङ्गवेद गुरुकुलमा रहेको स्वर्णद्वारा आश्रममा पूजापाठ गरेका थिए । पूजापाठका क्रममा बटुकहरुले स्वस्ति वाचन गरेका थिए। पूर्वराजा शाहले नागरिक अभिनन्दन समेत ग्रहण गरेका थिए । पूर्वराजालाई रुपन्देहीको भैरहवामा पुस १९ गते नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा र ह्रदेन्द्रलाई हेर्न खैरेन्द्रपुर चोकमा भीड लागेको थियो। आधा घण्टाको बसाई पछि उनी भैरहवा फर्केका थिए। नगरपालिकाले आयोजना गरे पनि सो कार्यक्रममा कांग्रेस, एमाले तर्फबाट निर्वाचित कोही पनि जनप्रतिनिधि सहभागी थिएनन्।

कार्यक्रममा राजतन्त्रको पक्षमा नाराबाजी समेत गरिएको थियो। मेयर थापाले पूर्वराजा वीरेन्द्र शाहको जन्मोत्सवको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको करकमलबाट शालिक शिलान्यास हुन आफैमा ऐतिहासिक क्षण रहेको बताए। 

उनले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी नयाँ नेपाल निर्माण गरेका पृथ्वी नारायण शाहलाई यो विशेष अवसरमा सम्मान दिन पाउँदा आफूलाई निकै खुसी लागेको बताए। 

प्रकाशित मिति : १४ पुस २०८० शनिबार ००:००  ९ : २१ बजे