२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

तौलिहवा पुगेर बाबुराम भट्टराईले भनेः तिलौराकोट संघीय गणतन्त्र र सभ्यता बिकासको जननी भूमि



तौलिहवा ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तिलौराकोट संघीय गणतन्त्र र सभ्यता बिकासको जननी भूमि भएको बताउनु भएको छ ।

डा. भट्टराईले प्राचीन तिलौराकोट विश्वको विकसित सभ्यता मध्ये एक रहेको बताउनुभयो ।

तिलौराकोट दरबार क्षेत्रमा आयोजना गरिएको कपिलवस्तु विकास कोष गठनका लागि संकल्प प्रस्ताव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

उहाँले तिलौराकोटमा भएको विभिन्न अध्ययन अनुसन्धानले विश्वको विकसित सभ्यता रहेको पुष्टि भइसकेको बताउनुभयो।

उहाँले भन्नुभयो, “इतिहासमा जुन हामीले मोहन जोदारो र हडप्पन सभ्यता बारे पढ्ने गरेका छौं, त्यो सभ्यताको हाराहरीमा तिलौराकोट नै रहेको छ। ”

उहाँले कपिलवस्तुमा रहेको ऐतिहासिक एवम् पुरातत्विक सम्पदालाई सही ढंगले प्रचार प्रचार नभएको बताउनुभयो। जुन देशले आफ्नो इतिहासप्रति गर्व गर्दैन त्यो देशको भविष्य नरहेको उहाँको भनाइ छ।

पुरातात्विक एवम् ऐतिहासिक रुपले महत्वपूर्ण रहेको कपिलवस्तुलाई ठिक ढंगले स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो। तिलौराकोट जस्ता सम्पदा विकासका आधार र आर्थिक केन्द्र रहेको भट्टराईले बताउनुभयो। उहाँले पर्यटनसँगै कृषि र उद्योगको विकास हुनु जरुरी रहेको बताउनुभयो।

कार्यक्रममा उपस्थित सरोकारवालाले लुम्बिनी विकास कोषको कार्यक्षेत्रभित्र परेका स्थल मध्ये ७ वटा कपिलवस्तुमा परे पनि सबै विकास लुम्बिनी आसपास मात्र केन्द्रित रहेको गुनासो गरेका थिए।

प्रकाशित मिति : ३० मंसिर २०८० शनिबार ००:००  ७ : ५० बजे