३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

चिसो मौसम शुरु भइसक्दा पनि डेङ्गीको सङ्क्रमण



काठमाडौं ।
चिसोयाम शुरु भए पनि डेङ्गीको सङ्क्रमण रोकिएको छैन । काठमाण्डौ उपत्यकामा त केही दिनदेखि सङ्क्रमण बढिरहेको छ । ज्वरो आएर अस्पताल पुग्ने गरेका धेरैजसो व्यक्तिमा डेङ्गीको सङ्क्रमण देखिइरहेको डाक्टरहरुले बताएका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २० जना ज्वरोको लक्षण भएका बिरामी आउँदा १५ देखि १८ जनामा डेङ्गी देखिने गरेको अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । अहिले पनि औसतमा दैनिक २० जनाभन्दा धेरै ज्वरोका बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।

सामान्यतया वर्षातको मौसम सकिएर चिसो बढ्न थालेपछि डेङ्गीको प्रकोप घट्ने अनुमान गरिन्छ । तर, पछिल्ला वर्षहरूमा कात्तिक र मंसिरको समयमा समेत डेङ्गीका बिरामी घटेका छैनन् । वर्षात पछिको यो मौसम डेङ्गी सार्ने लामखुट्टेको लागि उपयुक्त हुने देखिएको डा. पुनले बताउनुभयो ।

डेङ्गी सार्ने लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियसको वातावरण उत्तम हुने भएकाले डेङ्गीको सङ्क्रमण उच्च पहाडी क्षेत्रमा पनि बढ्दै गएको उहाँले बताउनुभयो । टेकुसँगै अहिले सिभिल, पाटन, वीर, त्रिवि शिक्षण लगायतका अस्पतालमा पनि डेङ्गीका बिरामी बढिरहेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्क अनुसार, कात्तिक १ गतेसम्म १५ हजार ३९४ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये १० जनाको ज्यान गएको छ । दशैँ बिदाका कारण कात्तिक १ गतेपछिको तथ्याङ्क अध्यावधिक भइनसकेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८० शनिबार ००:००  ५ : ४८ बजे