१३ असार २०८१, बुधबार | Wed Jun 26 2024

अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित



काठमाडौं ।
विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो ।

पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले एक ओभर बाँकी छँदै २ विकेट गुमाएर भेट्टायो । उसका लागि इब्राहिम जद्रानले ८७, रहमानुल्लाह गुर्बाजले ६५ तथा रहमत शाहले ७७ र हस्मतुल्लाह शाहिदीले नटआउट ४८ रन बनाए । पाकिस्तानका शाहिन शाह अफ्रिदी र हसन अलीले एक/एक विकेट लिए ।

अफगानिस्तानले एकदिवसीयमा पाकिस्तानलाई हराएको यो पहिलो पटक हो । अहिलेसम्म भएका ७ वटा एकदिवसीयमा सबैमा पाकिस्तान विजयी भएको थियो । यस्तै, अफगानिस्तानले एकदिवसीयमा २ सय ८० रनभन्दा माथिको लक्ष्य पछ्याएर जितेको पनि पहिलो पटक नै हो ।

हिजो टस जितेर ब्याटिङ रोजेको पाकिस्तानका लागि कप्तान बाबर आजमले ७४ र अब्दुल्लाह सफिकले ५८ रन बनाए । अफगानिस्तानका नुर अहमदले तीन र नवीन उल हकले दुई विकेट लिए । हिजोको जितसँगै पाँच खेलमा ४ अङ्ककासाथ अफगानिस्तान तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलमा ४ अङ्क नै भए पनि पाकिस्तान रन रेटका आधारमा पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८० मंगलबार ००:००  ६ : ५२ बजे