४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कपिलवस्तुको बाणगङ्गा थाल्यो छाडाचौपाया व्यवस्थापनको पहल



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका नगरपालिकाले छाडाचौपाया व्यवस्थापनको पहल थालेको छ ।

नगरकार्यपालिकाको बैठकबाटै एक समिति गठन गरी छाडाचौपाया व्यवस्थापनको पहल थालिएको हो ।

बैठकले नगर प्रवक्ता विष्णु प्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय छाडाचौपाया व्यवस्थापन समिति गठन गरेको छ ।

जसको सदस्यहरूमा जनप्रतिनिधि बाट बाणगङ्गा वडा नं. ६ का वडा अध्यक्ष करुण टण्डन, वडा नं. ८ का वडा अध्यक्ष बाबुराम अर्याल र वडा नं. ९ का वडा अध्यक्ष कमल प्रसाद पौडेल रहेका छन् । कार्यपालिका सदस्यबाट पिताम्बर सुनार र पार्वती सुनार रहेका छन् ।

त्यस्तै कर्मचारीबाट प्रशासन शाखा प्रमुख केशब भट्टराई सदस्य सचिव रहने गरी पशु विकास शाखा प्रमुख राजकुमार तिवारी, आर्थिक प्रशासन शाखा प्रमुख रहने गरी समिति गठन गरिएको हो ।

यो समितिले छाडा चौपाया व्यवस्थापन काम गर्ने जनाइएको छ । यसअघि छाडाचौपाया व्यवस्थापनका लागि नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले यसै आर्थिक वर्ष भित्र अल्पकालीन तथा दीर्घकालीन समाधान गरिने बताएका थिए । नगरवासीका मुख्य समस्याको रुपमा रहेको छाडा चौपायाको व्यवस्थापन जसरी पनि गरिने छ, उनले भनेका छन् ।

यता तीन पाङग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनका लागी वडाध्यक्ष रेश्मीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

नगरपालिकाले वडा नं. ४ का वडा अध्यक्ष छवि रेश्मीको संयोजकत्वमा ७ सदस्यीय तिन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापन समिति गठन गरेको छ । जसको सदस्यमा जनप्रतिनिधिका तर्फबाट वडा नं. १ का वडा अध्यक्ष सन्जु सारू मगर, वडा नं.८ का वडा वडा सदस्य शारदा परियार रहेका छन् ।

यस्तै कर्मचारीको तर्फबाट सदस्य सचिव रहने गरी राजस्व शाखा प्रमुख मदन घिमिरे, वाणगङ्गामा रहेका ई रिक्सा समितिका दुईजना सदस्य तथा ट्राफिक एकजना रहेका छन् ।

संयोजक रेश्मीले तीन पाङ्ग्रे अटो तथा इ– रिक्सा व्यवस्थापनमा समितिले कामको थालनी गर्ने बताए । उनले भने “अटो तथा इ– रिक्साको पार्किङ व्यवस्थापन गर्ने, यात्रुहरू ठगिनबाट जोगाउन सचेतना गर्ने, दुर्घटना न्यूनिकरणमा समेत यो समितिले काम गर्ने छ ।”
यस्तै बाणगङ्गाको वडा नं. ९ मा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीले ज्यान गुमाएका परिवारलाई नगरपालिकाले राहत प्रदान गर्ने भएको छ । नगरे राहत स्वरुप उनीहरूको परिवारलाई रु ३५ हजार प्रदान गर्ने भएको छ । बुधवार बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

वडा नम्बर ९ को भलवाड जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरीहरू ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई असोज १६ गते राति सर्पले डसेको हो । उनीहरु दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०८० बिहिबार ००:००  ७ : ४३ बजे