४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

केपी ओलीको भाषण जसरी कुनै पनि देश विकास भएको छैन : घनश्याम भुसाल



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीले गरेका भाषण जसरी संसारको कुनै मुलुक विकास नभएको बताएका छन्।

‘केपी ओलीले गरेका भाषण जसरी संसारको कुनै मुलुक विकास भएको छैन। ठ्याक्क चलाउनुस्, ग्यास आउँछ। ठ्याक्क चलाउनुस्, दूध आउँछ। भ्यूटावरले विकास हुन्छ। हाम्रो चुच्चे रेल चीन र भारततिर दगुर्छ। प्रशान्त महासागरमा हाम्रो पानीजहाज दगुर्छ जस्ता हावा गफ गरेर संसारमा कसैले विकास गरेको छैन’, भुसालको भनाइ छ।

समाजवादी जागरण अभियानका क्रममा मंगलबार दाङमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै भुसालले बेरोजगारी उन्मुलन गर्नुपर्ने बताए।

कृषिमा आश्रित जनताको घरमा आफ्ना बालबच्चा पढाउनसक्ने, हुर्काउन सक्ने, खुवाउन सक्ने, औषधि उपचार गराउन सक्ने न्यूनतम पैसा पुग्नुपर्ने भुसालको भनाइ छ। राज्यको यसको जिम्मा लिनुपर्ने उनको प्रस्ताव छ। ‘आजको हिसाबले हेर्ने हो भने हरेक किसानको प्रतिमहिना ३५ हजार बच्ने कुराको ग्यारेन्टी गर्नुपर्छ’, उनले भने।

अहिले अन्य पार्टीसँग अजेण्डा नभएको भुसालको दाबी छ।

ओली संसद् चल्न नदिने र गडबडी पैदा गरेर फेरि सरकारमा कसरी जान सकिन्छ भनेर दिनरात लागेको र उनको कामै त्यही भएको भुसालले बताए। ‘त्यसभन्दा बढी उनले जिन्दगीमा गर्दा पनि गर्दैनन्। बिगार्ने र भत्काउनेबाहेक तिनको कुनै भाग्यमै लेखेको छैन जस्तो लाग्छ। भाग्य नै बिगार्ने र भत्काउने भएको छ’, उनले भने।

ओलीले जहिलेसम्म नेकपा एमालेको नेतृत्व गरिरहन्छन्, त्यतिबेलासम्म नेकपा एमालेलाई नरकतर्फै लतार्ने भुसालको भनाइ छ। ‘दक्षिणपन्थतर्फ लतार्नेछन्। सत्तालिप्साका वरिपरि नै दौडाउनेछन्। त्यसमा कुनै शंका भएन’, उनले भने।

भुसालले कांग्रेसका निम्ति समाजवाद आइसकेको र उसलाई अब केही नचाहिने बताए। ‘१८ वर्षकाले भोट दिने हो, बजारले राज गर्ने हो। बस्, देशलाई भइहाल्यो। विकास–सिकास बजारले गर्छ। उद्योगपतिले गर्छ, पुँजीपतिले गर्छ। उसको सिद्धान्त नै यही हो। यसमा ऊ इमानदार नै छ। उसले अरु भनेको पनि छैन’, भुसालले कांग्रेसका सम्बन्धमा भने।

उनले माओवादीको पनि चित्रण गरे। भने, ‘माओवादी क्रान्तिको ठूलै कुरा गरेर आएको हो। तर इतिहासका कतिपय विरासतको कारणले र खासगरी सैद्धान्तिक कारणले, हामीले बनाउनुपर्ने समृद्ध र समाजवादी नेपाल बनाउनुपर्ने छ। उसले सिद्धान्तचाहिँ जनवादी क्रान्तिको माओवादी सिद्धान्त बोकेर हिँडेको छ। जहिलेसम्म माओवादीले माओवादी छाड्दैन। तबसम्म माओवादीबाट आशा गर्ने ठाउँ पनि छैन।’

रोजगारी नै नेपालीको नयाँ जिन्दगीका लागि आफूहरूको मुद्दा भएको उनले बताए। गणतन्त्र स्थापना भइसकेपछि, संविधान बनिसकेपछि मुलुक रोजगारी सिर्जना गर्ने तर्फ जाँदै गरेको भए पनि ओलीका कारण भत्किएको उनको भनाइ छ।

‘पर्याप्त सम्भावना पनि भइसकेको थियो। जनताले पनि आफ्नो तर्फबाट गर्न सकिने सबै कुरा गरिसकेका थिए। संविधान त्यस्तो बनाएका थिए। र त्यो संविधान बोक्न सक्ने पार्टी पनि बनाएका थिए। दुर्भाग्य, त्यतिबेला बनेको ठूलो, विशाल र लोकतान्त्रिक पार्टीभित्र एउटा धुन्धुकारी जन्मियो। केपी ओली नामको धुन्धुकारी पार्टीमा जन्मिएपछि उसले संसद् हान्यो। संसद्‌बाट संविधान हान्दै थियो। संविधानबाट लोकतन्त्र हान्दै थियो। त्यसले राजनीति बदलियो’, उनले भने।

त्यतिबेला मुलुक ठूलो दुर्घटनातर्फ मुलुक जाँदै गरेकाले ओलीको बदमाशीलाई रोक्नुपर्ने भएकाले आफूहरूले हिम्मत गरेको उनको भनाइ छ। ‘त्यो बेलामा कसै न कसैले हस्तक्षेप गर्नुपर्ने थियो। त्यो प्रयत्नलाई भाँच्नुपर्ने थियो’, उनले भने, ‘अन्ततः हामीले ठूलो हिम्मत गरेर ओलीलाई सत्ताबाट झार्‍यौं र मुलुकको लोकतन्त्र बचायौं। संविधानको रक्षा गर्‍यौं।’

प्रकाशित मिति : २३ आश्विन २०८० मंगलबार ००:००  ४ : ५६ बजे