२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

बाहिरिने समयमा मनसुन फेरि सक्रिय



काठमाडौँ ।
बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको छ । गएरातिदेखि देशका केही ठाउँमा पानी परिरहेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार अहिले कोशी र कर्णाली प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षा भइरहेको छ ।

आज देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । भोलि र पर्सि भने ठूलो पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको असर नेपालमा परेको छ । यसकै कारण कोशी, मधेस, बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, यो प्रणालीसँगै स्थानीय वायुको प्रभाव मिसिँदा केही ठाउँमा एकैछिनमा आरीघोप्टे वर्षासमेत हुने मौसमविद् अधिकारीले बताउनुभयो । केही दिन अघिसम्म मनसुन कमजोर थियो । जसले गर्दा खासै पानी परेको थिएन । तर, अस्ति शुक्रवारदेखि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ । अबको तीन दिन मौसम यस्तै रहने सम्भावना रहेकाले यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को सुझाव छ । आफूले यात्रा गर्ने बेला सडकको अवस्था र मौसमसम्बन्धी जानकारी लिन मौसमविद्ले सुझाव दिएका हुन् ।

बाढी पहिरोको जोखिम बढेकाले भिरालो जमिन, खोला तथा नदी आसपासका क्षेत्रमा बसोबास भएकालाई उच्च सतर्कता अपनाउन पनि मौसमविद्को आग्रह छ । यसपालि मनसुन ढिलो गरी बाहिरिने भएको छ । सामान्यतया नेपालबाट अक्टोबर दुई तारिख अर्थात् भोलि मनसुन बाहिरिने गर्छ । तर, यसपालि अन्तिमतिर मनसुन फेरि सक्रिय भएको छ ।

नेपालमा गएको जेठ ३१ गते मनसुन भित्रिएको थियो । सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने गर्छ । तर यसमा एक/दुई दिन तलमाथि हुने गरेको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा एक दिन ढिला गरी नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८० आइतबार ००:००  ८ : ३१ बजे