२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

तेल र ग्यासमा फेरि भाउ बढेपछि उपभोक्ता थप मारमा



काठमाडौँ ।
चाडपर्वको बेला सहुलियत पाउनुपर्नेमा नागरिक थप महँगीको मारमा परेका छन् । गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यास, पेट्रोल, मट्टीतेल र हवाई इन्धनको भाउ बढेको छ ।

ग्यास प्रतिसिलिण्डर २ हजार १ सय १० रुपैयाँ पुगेको छ । यस्तै, पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ बढेको छ ।

बढेको मूल्य अनुसार अब काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ तथा डिजल र मट्टीतेलको एक सय ७९ रूपैयाँ पर्नेछ । अरु ठाउँमा भाउ फरक फरक छ । खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर २ हजार एक सय १० रूपैयाँ पर्नेछ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले स्वचालित प्रणाली अनुसार नेपालमा पनि भाउ बढेको जनाएको छ । ग्यास र पेट्रोलियम पदार्थमा भाउ बढ्नु पहिले नै अरु दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ ।

डिजल र पेट्रोलको भाउ थप बढेपछि यात्रा र ढुवानी खर्च पनि बढ्ने भएकाले उपभोक्ता अझै मारमा पर्नेछन् । महँगीले बिहान बेलुका छाक टार्नै मुस्किल हुन थालेको छ । महँगी यसरी बढिरहे पनि सरकार मौन छ । बजारमा भइरहेको कालोबजारी र कृत्रिम अभाव हटाउन सरकारले प्रयास नै गरेको छैन ।

मूल्यवृद्धिको चर्को आलोचना भइरहे पनि नियन्त्रणमा चासो दिइएको छैन । दैनिक बजार अनुगमन भइरहेको भनिए पनि त्यो प्रभावकारी देखिएको छैन । बजार अनुगमनले मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकेको उपभोक्ताले गुनासो गरेका छन् ।

दशैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्व नजिकिएसँगै बजारमा अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको छ । मूल्यवृद्धि नियन्त्रणमा लिन सरकारमाथि दबाब बढ्दो छ ।

प्रकाशित मिति : १४ आश्विन २०८० आइतबार ००:००  ८ : २८ बजे