मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) कपिलवस्तुको अध्यक्षमा गीता अन्जानले जिम्मेवारी पाएकी छिन् । शनिबार सम्पन्न भएको जिल्ला सचिवालय बैठकले जिल्ला अध्यक्षसहितका पदाधिकारी हेरफेर गरेसँगै अन्जानले अध्यक्षको जिम्मेवारी पाएकी हुन् ।
उनी यसभन्दा अगाडि जिल्ला उपाध्यक्ष थिइन् । अध्यक्षको जिम्मेवारीमा रहेका लंक बहादुर हमालले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको भूमिका पाएपछि अन्जानलाई अध्यक्ष बनाइएको हो ।
यस्तै जिल्ला कमिटी उपाध्यक्षमा फैजल खानले जिम्मेवारी पाएका छन् । खान जिल्ला सचिवालय सदस्यमा थिए । सचिवमा सरोज पौडेल आएका छन् । जिल्ला उप-सचिवको जिम्मेवारीमा रहेका पौडेललाई सचिवको जिम्मेवारी दिइएको नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सदस्य मीना परियारले जानकारी दिइन् ।
यस्तै पार्टी विधान अनुसार तीन जना उप-सचिव रहने व्यवस्था रहे बमोजिम जिल्ला कमिटी उप-सचिवमा रामु पौडेल, इन्तेखाब अहमद खान, तुल्सीराम छिपिले जिम्मेवारी पाएका छन् । पौडेल, खान र छिपी यसभन्दा अगाडि जिल्ला सचिवालय सदस्यमा थिए ।
शनिबार जिल्लाको गोरुसिंगेमा बसेको सचिवालय बैठकलाई पार्टीका पोलिटव्यूरो सदस्य तथा लुम्बनी प्रदेश कमिटी अध्यक्ष सोम प्रसाद पाण्डेले सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै पाण्डेले समाजवादी क्रान्तिमा नवनिर्वाचित कमिटीले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । साथै पार्टीको आसन्न महाधिवेशन केन्द्रीत पार्टी गतिविधिलाई सक्रिय बनाउन उनले आग्रह गरे ।
यस्तै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लंक बहादुर हमालले सबैलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको भन्दै अब पार्टी काममा दत्तचित्त भएका काम गर्न आग्रह गरे ।
प्रतिक्रिया