काठमाडौँ ।
राष्ट्रिय कृषि गणना २०७८ अनुसार मुलकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौं राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांकले विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको देखाएको हो ।
राष्ट्रिय कृषि गणना २०६८ मा २५ लाख हेक्टर कृषियोग्य जमिन थियो । हाल २२ लाख हेक्टर मात्रै कृषियोग्य जमिन छ । कृषिगणना अनुसार कृषक परिवारको संख्या बढे पनि कृषियोग्य जमिन भने घट्दै गएको देखिएको छ ।
हिमालमा ०.२ प्रतिशत कृषक परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ । पहाडमा कृषक परिवार ७.७ प्रतिशतले बढेको छ भने १२ प्रतिशतले कृषि जग्गा घटेको छ । तराईमा ९.४ प्रतिशतले कृषक परिवार बढ्दा ११ प्रतिशतले कृषि जमिन घटेको छ ।
अस्थायी बाँझो जग्गा दोब्बरले बढेको कृषिगणनाले देखाएको छ । कृषि गणना २०६८मा ३० हजार हेक्टर अस्थायी बाँझो जग्गा भएपनि अहिले ६० हजार हेक्टर जग्गा अस्थायी बाँझो रहेको छ ।
प्रतिक्रिया