कपिलवस्तु ।
गाउँपालिका खुला दिसामुक्त घोषणा भइसके पनि कपिलवस्तुको विजयनगर गाउँपालिकामा कार्यरत प्रअ, वडाहरु सहित जन प्रतिनिधिहरुकै घरमा शौचालय छैन।
केही दिन अघि गाउँपालिकाकै खानेपानी तथा सरसफाई कार्यक्रमका टोलीले अनुगमनका क्रममा सो तथ्य फेला परेको हो। गाउँपालिकालाई २०७५ जेठ २४ गते खुला दिसामुक्त घोषणा गरिएको थियो। तर हालसम्म पनि प्रअ देखि जन प्रतिनिधिहरुको घरमा भने शौचालय छैन। उनीहरु खुला ठाउँमा शौच गर्दै आएका छन्।
खानेपानी तथा सरसफाई कार्यक्रमका संयोजक अर्जुन बेल्बासेले गाउँपालिकाभित्र रहेको शिक्षक कर्मचारी, जन प्रतिनिधिहरुकै घरमा घरमा शौचालय निर्माण र प्रयोग नभएको पाइएको बताए।
‘गाउँपालिकाको १ नम्बरका वडा अध्यक्ष इन्नर थारुको घरमा शौचालय छैन। वडा नम्बर ७ बडसुडका जनज्योति आधारभूत विद्यालय मानपुर–ढोढरीका प्रधानाध्यापक सगराम बढईले शौचालयको रिङ मात्र बनाएको भेटिएको छ। वडा नम्बर १ गुगौलीका गाउँपालिकाको जिन्सी शाखामा कार्यरत इलेक्ट्रिसियन संगम खटिक, वडा नम्बर १ गुगौलीकै गाउँपालिका–६ बद्धौर आधारभूत स्वास्थ्य चौकीका कार्यालय सहयोगी राजेश कोरीले घरमा शौचालय निर्माण गरेका छैनन्।’ उनले भने।
उनका अनुसार वडा नम्बर २ महुवादुधारका वडा सदस्य सोमई केवट, वडा नम्बर २ पडरियाका पशु विकास शाखाका कार्यालय सहयोगी हेमराज तेली खुला ठाउँमा शौच गर्ने गरेका छन्। वडा नम्बर २ बगहियाका गुगौली स्वास्थ्य चौकी कार्यालय सहयोगी त्रिभुवन भरले शौचालय निर्माण गरेको तर ढोका नलगाइएको फोहोर अवस्थामा भेटिएको अनुगमन टोलीले जनाएको छ।
शौचालय नभएका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको गाउँपालिकाद्वारा प्रदान गर्ने सेवा सुविधा रोक्क गर्न गाउँपालिकालाई सिफारिस गरिएको बेल्बासले बताए।
गाउँपालिका खानेपानी तथा सरसफाई कार्यविधि २०८० अन्तर्गत शौचालय निर्माण नगरेका कर्मचारी र जनप्रतिनिधिहरुको सेवा सुविधा रोक्का गरेर कारबाही गर्न सिफारिस गरिएको उनको भनाइ थियो।
कार्यविधि २०८० का अनुसार अनुगमन गर्दा एक पटकमा ५ सयदेखि ५ हजार रुपियाँसम्म जरिवानासमेत रहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार बिजयनगरमा ४५ प्रतिशतले मात्र शौचालय निर्माण गरेका छन्।
प्रतिक्रिया