काठमाडौं ।
साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा पहिलो जित हात पारेको छ । बार्सिलोनाले आइतबार राति भएको खेलमा क्याडिजलाई २-० ले पराजित गरेको हो ।
पेड्री र फेरान टोरेसले अन्तिम ८ मिनेट भित्र गोल गरेपछि बार्सिलोनाले सिजनको पहिलो जितसहित तीन अंक जोडेको छ ।
घरेलु मैदानमा बार्सिलोनाले पहिलो गोल गर्न ८२ मिनेटसम्म कुर्नुपरेको थियो । पेड्रीले ८२औं मिनेटमा इल्के गुन्डागोनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । फेरानले इन्जुरी टाइमको चौथो मिनेटमा रोबर्ट लेवान्डोसक्को पासमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे ।
जितपछि दुई खेलबाट ४ अंकसहित पाँचौ स्थानमा उक्लेको छ । नयाँ सिजन रियल मड्रिड र भ्यालेन्सियाले मात्रै खेलेको दुवै खेल जितेका छन् । रियल र भ्यालेन्सिया क्रमशस् पहिलो र दोस्रो स्थानमा छन् ।
ला लिगाकै अन्य खेलमा जिरोनाले गेटाफेलाई ३-० ले पराजित गर्दा एट्लेटिको मड्रिड र रियल बेटिसले गोलरहित बराबरी खेलेका छन् ।
जिरोना र एट्लेटिकोको पनि बार्सिलोना समान ४ अंक नै छ । तर गोल अन्तरमा जिरोना तेस्रो र एट्लेटिको चौथो स्थानमा छ ।
प्रतिक्रिया