एजेन्सी ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको मुद्दाको कारण राजधानी वाशिंगटनको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । उनले सन् २०२० को राष्ट्रपतीय निर्वाचनको परिणाम उल्टाउन षड्यन्त्र गरेको आरोपसहित दायर मुद्दामा उनी स्थानीय समयअनुसार बिहीबार त्यहाँको अदालतमा हाजिर हुन जानुअघि सुरक्षा व्यवस्था कडा तुल्याइएको बताइएको छ ।
संघीय जिल्ला अदालतमा जानुअघि ट्रम्पले राष्ट्रपति बाइडन प्रशासन र अभियोजकमाथि चर्को आक्रोश पोखेका छन् । उनी दिउँसो ४ बजे अदालतमा उपस्थित हुने प्राप्त समाचारमा जनाइएको छ । ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र गरेको र मतदाताको अधिकार हननको प्रयाससहित मुख्य चार वटा आरोप लगाइएको छ ।
यसअघि उनका समर्थकले २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको थियो । सोही घटनाको छानबिन गरिरहेका विशेष अभियोजक ज्याक स्मिथको टोलीले अस्ति ट्रम्पविरुद्ध फौजदारी मुद्दा दर्ता गराएको थियो ।
आगामी वर्षको राष्ट्रपतीय निर्वाचनमा उनले पुनः प्रतिस्पर्धाको घोषणा सार्वजनिक रुपमा गर्दै आएका छन् ।
प्रतिक्रिया