पाँचथर ।
पूर्वी पहाडको मुख्य नगदेबाली अलैँचीको भाउ विगत छ वर्षयताकै उच्च भएको छ । बर्सेनि ओरालो लागेको अलैँचीको भाउ नयाँ उत्पादन बजार निस्कनै लाग्दा छ वर्षयताकै उच्च भएपछि किसान हर्षित भएका छन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरमा आज बिहीवार अलैँची प्रतिमन (४० किलो) को ५९ देखि ६१ हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ पाँचथरका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।
जिल्लामा साउनको तेस्रो हप्तादेखि अलैँचीको नयाँ उत्पादन बजार निस्कन थाल्दछ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढेको र किसान तथा व्यापारीसित मागअनुसार अलैँची पर्याप्त नहुँदा भाउ बढेको अध्यक्ष अधिकारी भनाइ रहेको छ ।
भाउ बढे पनि हिउँदको समयमा पर्याप्त वर्षा नभएको र रोगका कारण केही अलैँचीका बोट मरेपछि उत्पादन घट्ने सम्भावना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो । पाँचथरमा तीन हजार चार सय ४० हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।
प्रतिक्रिया