९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

लम्पी स्किन खोपको व्यवस्था गर्न लुम्बीनी राप्रपाको माग



बुटवल ।
राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेश समितिले लम्पी स्किन रोगबाट पशु चौपायालाई बचाउन समयमै खोपको व्यवस्था गर्न माग गरेको छ ।

राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ति जारी गर्दै लम्पी स्किन खोपको अभावले प्रदेशमा करोडौं मूल्य बराबर पशु चौपायाको मृत्यु र विरामी भएको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न माग गरेका छन् ।

लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार प्रदेशमा १ लाख १८ हजार पशु संक्रमित मध्ये २३ हजार ९ सय २७ पशु निको भएका, ८८ हजार ९ सय ८४ सक्रिय संक्रमित रहेका र ५ हजार ८९ पशुको मृत्यु भएको छ ।

अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाएको छ । अहिलेसम्म प्रदेशका १२ जिल्लामध्ये बर्दिया र पूर्व रुकुमबाहेक १० जिल्लामा २१ हजार ७ सय २१ खोप लगाइएको छ ।

खोप व्यवस्थापनको लागि ५ करोड रुपैयाँ प्रदेश सरकारसँग माग गरिएको निर्देशनालयका निर्देशक डा. परबेज आलमले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८० शुक्रबार ००:००  ११ : ३१ बजे