२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कपिलवस्तुमा अनुदानको ५४ बोरा रासायनिक मल सहकारीका अध्यक्षले ससुरालीको घरमा पुर्‍याए



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा सरकारले अनुदानमा दिने गरेको रासायनिक मल वितरणमा अनियमितता देखिएको छ । यसरी अनियमितता गर्नेमा मल वितरणको अनुमति पाएका कृषि सहकारी रहेका छन् ।

सरकारले हरेक जिल्लामा रासायनिक मल प्रशस्त पठाए पनि वितरणको जिम्मा पाएका सहकारीले बदमासी गर्दा किसानसम्म मल नपुगेको भन्दै धान दिवसको दिन असार १५ मा कृषिमन्त्री एक कार्यक्रममा जंगिएका थिए । कृषि मन्त्रीको त्यो स्विकारोक्तीलाई पुष्टि गर्ने एउटा उदाहरण कपिलवस्तुमा छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ लवनीमा रहेको एक कृषि सहकारीले कृषि सामग्री केन्द्र तौलिहवाबाट लगेको मल आफ्ना मान्छेको घर पुर्याएको पाइएको छ । यो कुराको बारेमा कपिलवस्तुका पत्रकार मोहन बेलबासेले सार्वजनिक गरेका छन् । सोमबार साँझ उनले फेसबुकमा यो कुरा सार्वजनिक गरेका हुन् । नेपाल पत्रकार महासंघका कोषाध्यक्ष समेत रहेका उनका अनुसार तौलिहवाबाट लगेको मल ओम कृषि सहकारी संस्थाले आफन्तको घरमा पुर्याएको छ ।

यो थाहा पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको पनि उनले लेखेका छन् । उनका अनुसार सहकारीका अध्यक्ष भगिरथी यादवले तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा लगेर राखेका छन् । सहकारी अध्यक्षले भने पानी परेपछि सुरक्षाको लागि गोदाम नभएर ससुराको घरमा लैजानु परेको बताएका छन् ।

बेलबासेले फेसबुकमा लेखेका छन् ‘कपिलवस्तुको शुद्दोधन गाउँपालिका ३ लवनीमा रहेको ओम कृषि सहकारी संस्थाको नाममा कृषि सामग्री केन्द्र तौलिहवाबाट लगेको ५४ बोरा रासायनिक मल अध्यक्ष भगिरथी यादवले आफ्नो ससुराली घर शुद्धोधन ६ मा रहेको बनारसी यादवको घरमा राखेपछि प्रहरीले अनुसन्धान थालेको छ ।

यादवले सहकारीको गोदाम पानी चुहिने भएको हुँदा ससुरालीमा राखेको र भोली बाड्न किसानलाई खबर गरेको बताएका छन् । ईलाका प्रहरी कार्यालयको टोलीले रासायनिक मल बरामद गरी अनुसन्धान थाल्ने जनाएको छ ।’

कपिलवस्तुमा मात्र होइन देशभर सहकारीका संचालकले बदमासी गर्दा किसानले मल नपाएर हैरानी पाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८० मंगलबार ००:००  ७ : १६ बजे