८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बल्ल भयो कपिलवस्तु साक्षर



कपिलवस्तु ।
लामो प्रयास पश्चात कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका ११ जिल्ला यस अगाडी नै साक्षर जिल्ला घोषित भएका थिए । तर कपिलवस्तु साक्षर जिल्ला नहुँदा सिंगो प्रदेश नै साक्षर हुनबाट रोकिएको थियो ।

आइतबार कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गरिएसँगै लुम्बिनी प्रदेशलाई नै साक्षर घोषणा गर्ने बाटो खुलेको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा साक्षरता अभियान जिल्ला समन्वय समिति कपिलवस्तुद्वारा आयोजित घोषणा सभामा प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । प्रदेश सदस्य पाण्डेयले घोषणाको प्रमाणपत्र बाचन गरेर जिल्ला साक्षर भएको जानकारी दिए ।

कपिलवस्तु नेपालको ६४ औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषित भएको हो । साक्षरता घोषणाका लागि तोकिएका १२ वटा मापदण्ड छन् । जसमा ६ वटा मापदण्ड (५० प्रतिशत) पुरा गरे पछि कपिलवस्तु जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा बिकास समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।

घोषणा कार्यक्रममा सहभागी पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष किरणमान बज्राचार्य, शुद्धोधन गाउँपालिकाका प्रमुख कमलेशशरण चौधरी, प्रजिअ शंकरहरी आचार्य, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतले साक्षर घोषणासँगै साक्षरताका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । आगामी आवमा तत्कालै लुम्बिनी प्रदेशलाई साक्षर घोषणा गरिने लुम्बिनी प्रदेश शिक्षा बिकास निर्देशनालयका उप सचिव रश्मिराज अर्यालले जानकारी दिए ।

कपिलवस्तु जिल्लालाई प्रदेशकै १२ साक्षर जिल्ला घोषणा गरिएको प्रष्ट्याउँदै अब साक्षरताका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने लुम्बिनी प्रदेशसभाका सदस्य सुधाकर पाण्डेयले सुझाव दिए । कपिलवस्तु जिल्ला प्रदेशलाई नै साक्षर बन्न बाधक बन्दै आएकोमा कपिलवस्तु जिल्ला साक्षर बनाउने अभियानले सार्थकता पाएको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । एक बर्षको अबधिमा जिल्लाका ६ वटा पालिका र जिल्लालाई नै तोकिएको मापदण्ड पुरा गरी साक्षर घोषणा गर्न सफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८० सोमबार ००:००  ७ : ४६ बजे