८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कृष्णनगर भन्सार अधिकृतमाथि लाग्यो धरौटी रकममा कमिसन खाएको आरोप



कपिलवस्तु ।
कपिलवस्तुस्थित कृष्णनगरका एक भन्सार अधिकृतमाथि तस्करीको आरोपमा थुनामा रहेका थुनुवाहरुको धरौटीमै कमिसन लिएको आरोप लागेको छ । भन्सार अधिकृत विकास उपाध्यायले ऐजेन्ट अंगद त्रिपाठी मार्फत् कमिसन खाएको थुनुवाका परिवारले बताएका छन् ।

घटना विवरणअनुसार असार २१ गते राति दुई पोका कपडासहित कृष्णनगर प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका नगेन्द्र ठाकुर, रमेश यादव र सुरेन्द्र चौधरीलाई कपडासहित ६९ हजार बिगो राखेर प्रहरीले २२ गते बुझायो ।

२२ गते शुक्रबारका कारण धरौटी राख्ने भन्दै उनका परिवारले स्थानीय समेत रहेका भन्सार अधिकृत विकास उपाध्यायलाई भेटे । उपाध्यायले सामानको बिगो ७६ हजार २ सय कायम रहेको जनाउँदै तीन जनाको सोहीबमोजिम रकम ल्याएर बुझाउनुपर्ने बताए । त्यसपछि परिवारले रकम जोहो गरेर आइतबार प्रतिव्यक्ति ७६ हजार २ सयको दरले भन्सार अधिकृत उपाध्यायले भनेबमोजिम एजेन्ट अंगद त्रिपाठीलाई बुझाए । तर परिवारको हातमा धरौटी रसिद भने २५ हजार ४ सय लेखेर दिइयो ।

धरौटीमा तीन जना छुटेपनि बाँकी रकम भने उनीहरुले पाएनन् । एजेन्ट त्रिपाठी उक्त रकम विकास सरसँग रहेको र आफूले उहाँलाई दिएको भन्दै पन्छिए । अधिकृत उपाध्यायले आफूलाई यसबारे थाहा नभएको बताएका छन् । तर पीडितहरु उक्त रकम अधिकृत उपाध्यायले भनेबमोजिम एजेन्टलाई दिएकाले धरौटी बाहेकको बाँकी १ लाख ५२ हजार ४ सय रकम पाउनुपर्ने भन्दै हारगुहार गरिरहेका छन् ।

भन्सार ऐन २०६४ को दफा ४१ को १ मा पक्राउ मालवस्तुको बिगो बराबरको रकम तिरेमा धरौटीमा छाड्न सकिने व्यवस्था छ । अधिकृत उपाध्याय आफैँले नै यसमा खुलेर कमिसन खाएको पीडितहरुको आरोप छ ।

विगत दुई वर्षदेखि कृष्णनगर भन्सारमा अधिकृत रहेका उपाध्याय स्थानीय वडा नम्बर १ का बासिन्दा हुन् । उनी भन्सारमा गएपछि सो क्षेत्रमा संगठित तस्करी मौलाएको स्थानीयको आरोप छ । सिमेन्ट तथा खाद्यान्नजन्य कच्चा पदार्थमा मूल्याङ्कन तथा तौलमा थपघट गर्ने, राँगा तथा खसी तस्करीलाई सहज बनाउने, परिमाण तथा दररेट न्यून राखेर कपडाको भन्सार गर्ने लगायतका आरोप उनीमाथि लाग्दै आएको छ ।

भन्सार चुहावटकै कारण विगत दुई वर्षदेखि भन्सार कार्यालयले लक्ष्य अनुसारको राजस्व समेत संकलन गर्न सकेको छैन । सेवाग्राहीलाई दुर्व्यवहार गर्ने, झगडालु स्वभावका उपाध्यायले आफ्ना तोकिएका एजेन्ट मार्फत् अवैध कार्यलाई वैधानिकता दिँदै आएको भन्सारका कर्मचारीहरुको आरोप छ । कृष्णनगर भन्सार प्रमुख गगनबहादुर विकले धरौटी बढी लिएको विषयमा जानकारी नभएकाले यसबारे बुझेर प्रतिक्रिया दिने बताए । -जनआस्थाबाट

प्रकाशित मिति : २९ असार २०८० शुक्रबार ००:००  ४ : २९ बजे