८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लुम्बिनी प्रदेशमा ५४ प्रतिशत रोपाइँ



बुटवल ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा ३१ लाख १० हजार ४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

तर, असार महिनाको अन्तिम सातासम्म १६ लाख ९७३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ५४.५२ प्रतिशत हो ।

लुम्बिनी प्रदेशको खेतीयोग्य जमिनमध्ये ५५.०७ प्रतिशतमा सिँचाई सुविधा रहेको लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको तथ्यांक छ ।

मन्त्रालयका प्रवक्ता अनिल मरासिनीका अनुसार अहिले सिँचाई नभएको ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने तर पानी नपरेकाले पर्याप्त रोपाइँ हुन नसकेको हो ।

मन्त्रालयका अनुसार १२ जिल्लामध्ये सबैभन्दा बढी प्युठानमा रोपाइँ भएको छ भने सबैभन्दा कम दाङ जिल्लामा भएको छ ।

प्युठानमा ६५२५ हेक्टरमा रोपाइँ हुनुपर्ने ठाउँमा अहिले ६१९९ हेक्टरमा भएको छ, जुन ९५ प्रतिशत हो ।

दाङमा जम्मा २७ प्रतिशत रोपाइँ भएको छ । यहाँ धान रोपाइँ हुने ३७४३० हेक्टर भए पनि अहिलेसम्म १०१०६ हेक्टरमा भएको छ ।

रोल्पामा जिल्लामा ९१ प्रतिशत रोपाइँ भएको छ । रोल्पामामा ४६३८ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा अहिलेसम्म ४२२१ हेक्टरमा भएको छ । यस्तै पूर्वी रुकुममा ८८ प्रतिशत रोपाइँ भएको छ ।

नवलपरासी जिल्लामा २०,५०० हेक्टर मध्य अहिले १३३२५ हेक्टरमा रोपाइँ भएको छ, यो ६५ प्रतिशत हो ।

रुपन्देही जिल्लामा ५७ प्रतिशत मात्र रोपाइँ भएको छ । कपिलवस्तुमा ७००७० हेक्टरमा धान रोपाइँ हुने ठाउँमा अहिले ४४८४५ हेक्टर भएको छ। यो कुल ६४ प्रतिशत हो ।

पाल्पामा ८२१० हेक्टरमा रोपाइँ हुनुपर्नेमा अहिले ६३२२ हेक्टर क्षेत्रफल भएको छ, ७७ प्रतिशत हो ।

गुल्मीमा ४६७० हेक्टर हुनुपर्नेमा ३९०२ हेक्टर अर्थात् ४५ प्रतिशत रोपाइँ भएको छ । उता अर्घाखाँचीमा ८०५० हेक्टर रोपाइँ हुनुपर्ने मध्ये ४०२५ हेक्टरमा भएको छ, जुन ५० प्रतिशत हो ।

यस्तै बाँके जिल्लामा कुल ३३००० हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये अहिले १३२०० हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ४० प्रतिशत हो । बर्दियाको ४९०३३ हेक्टरमा रोपाइँ हुनुपर्नेमा २५९८७ हेक्टरमा भएको छ । यो जिल्लामा ५३ प्रतिशत रोपाइँ भएको छ ।

प्रकाशित मिति : २७ असार २०८० बुधबार ००:००  ८ : ३८ बजे