मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा सर्पले डसाईबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विशालु सर्पले डसाईबाट बुद्धभूमि नगरपालिका वडा नं. १ का दुई दुई दाजुभाईको निधन भएको छ ।
निधन हुनेमा ९ बर्षीय प्रदीप भुसाल र १२ बर्षीय दिपक भुसाल रहेका इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो ।
दुबै जना आफ्नो हजुरआमासँग एकतले घरको भुईमा सुतेका थिए ।
विहान दुई दाजुभाई बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पु¥याइएको थियो । यहाँ उपचार सम्भव नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लैजादै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारको क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
नातिसँग सुत्नुभएकी ६० बर्षीया हजुरआमा बसन्ता भुसाललाई सर्पको डसेको हुन सक्ने भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदशं उपचार केन्द्रका व्यवस्थापक नविन भण्डारीले जानकारी दिनुभयो ।
मृतक दाजुभाईकी आमा बैदेशिक रोजगारको शिलशिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । बुबाको यसभन्दा अगाडी नै दुर्घटनाबाट निधन भएको थियो ।
यता सोमबार विहान बुद्धभूमि नगरपालिका वडा नं. १० की १६ बर्षीया ममता रैदासको समेत सर्पको डसाईबाट निधन भएको छ । सर्पले डसे लगत्तै उहाँलाई नजिकै रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगे ल्याइएको र यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल तौलिहवा पठाइएको पनि बचाउन नसकिएको चिकित्सकले बताएका छन् ।
सोमबार नै जिल्लाको महाराजगन्ज नगरपालिकाकी ३० बर्षीया अनिता यादवको सर्पको डसाईबाट मृत्यु भएको छ । दिउँसो साढे एक बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा यादवलाई गोमन सर्पले डसेको थियो । लगत्तै कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा उपचारको लागि ल्याएको र यहाँ उपचार नभएपछि बुटवल लैजादै गर्दा उहाँको बाटोमै निधन भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।
जिल्लामा बर्खा लागेसँगै सर्पको विगविगी बढिहरेको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा सर्पदंशको उपचार केन्द्र छ ।
प्रतिक्रिया