८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दिउँसो चार, राति पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौँ ।
आज (मंगलबार) पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान कोशी, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।

यस्तै आज दिउँसो र राति पनि सबै प्रदेशमा वर्षाको सम्भावना रहेको उनले बताए।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

आज अपराह्न काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् झाले बताए।

यस्तै राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ– ‘सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिन्छ। तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रकाशित मिति : २६ असार २०८० मंगलबार ००:००  ८ : ४१ बजे