बुटवल ।
बुटवल उपमहानगरपालिकाले सेवा प्रवाहलाई सहज र सरल बनाउन एआई च्याटबट सञ्चालनमा ल्याएको छ । बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्ससँग जोडेर उपमहानगरपालिकाले च्याटबट सञ्चालनमा ल्याएको हो ।
बुटवल नामको च्याटबटको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे ।
च्याटबट शुभारम्भ गर्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आमजनताको पहुँचलाई सहज र सरल बनाउनका लागि च्याटबट सञ्चालनमा ल्याइएको बताए ।
उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्नेगरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए ।
नगर प्रमुख पाण्डेयले नगरलाई अग्रणी शहरका रुपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरबासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारको माध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताए ।
कार्यक्रममा च्याटबटको उपयोगिताबारे बताउँदै यूएनडीपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए । उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाइ गर्न सुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए ।
कार्यक्रममा यूएनडीपी एक्लेटर ल्याबका अमन श्रेष्ठ, दियो डट एआईका विजयन भट्टराई, नामीका उदित अर्याल, सुप्रिया ढकालले एआई च्याटबटका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
प्रतिक्रिया