८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

देश विकासमा जेष्ठ नागरिकका अनूभव महत्वपूर्णः विष्णु पन्थी



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले जेष्ठ नागरिकको ज्ञान, सिप र अनूभवलाई बिर्सन नहुने बताएका छन् । जेष्ठ नागरिकका अनूभव र युवाहरुको जोस जाँगरलाई प्रयोग गरेर मात्र देश विकास गर्न सकिने भन्दै जेष्ठ नागरिकलाई सम्मानजनकस्थान दिनुपर्नेमा सांसद पन्थीले जोड दिए ।

राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालको दशौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै पूर्व प्रदेश स्वास्थ्य मन्त्री समेत रहेका पन्थीले भने–‘ हामी जुनसुकै समाजमा रहेपनि जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने हुन्छ । पछिल्लो समय परिवारबाटै जेष्ठ नागरिक अपहेलित हुनुपरेको छ । त्यस्तो संस्कार नेपाली समाजले पचाउन सक्दैन् ।’

कार्यक्रममा राष्ट्रिय जेष्ठ नागरिक समाज नेपालका केन्द्रीय अध्यक्ष चन्द्रकान्त आचार्यले देश भरका जेष्ठ नागरिकहरुको प्रतिनिधित्व गर्दै कपिलवस्तुमा साधारण सभा गर्न सक्नु ठूलो उपलब्धि भएको बताए । अहिले आफूहरु जस्ता धेरै वृद्धवृद्धा घरवारविहिन भएको भन्दै त्यस तर्फ स्थानीय सरकारदेखि केन्द्र सरकारले तत्काल चासो देखाउनुपर्ने बताए । नेपाली समाजमा पहिला जस्तो जेष्ठ नागरिकले सम्मान पाउन छाडेको भन्दै उनले दुखेसो समेत पोखे ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोबिन्द सिंह विष्टले अभिभावक ठानेर बाणगंगा र बुद्धभूमिका मेयरलाई निमन्त्रण गरेपनि उहाँहरुको अनुपस्थितिले आफूहरु अभिभावकविहिन जस्तै भएको गुनासो गरे ।

प्रकाशित मिति : २४ असार २०८० आइतबार ००:००  ९ : ०३ बजे