१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुल्मीको कुमालटारीमा पुग्यो सिंचाइ, किसान खुशी



गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका–६ कुमालटारीमा छल्दीखोला सिंचाइ आयोजना पूरा भएपछि स्थानीय किसानले खेतबारीमा सिंचाइ सुविधा पाएका छन् ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयले सञ्चालन गरेको सिंचाइ योजना पूरा भएपछि धान रोपाइका लागि आकाशको पानी कुर्नु नपर्ने स्थानीय किसान नारायणप्रसाद कुँवरले बताए । सिंचाइको सुविधा नहुँदा यहाँका किसानले धेरै खेती लगाउन आकाशे पानीको भर पर्नुपर्ने अवस्था थियो ।

सिंचाइको सुविधा भएपछि किसानलाई धान, गहुँ मकै, आलुजस्ता अन्नबाली र अरु नगदेबाली उत्पादन गर्न पनि सजिलो हुेन कुमालटारी सिंचाइ आयोजनाका अध्यक्ष ऋषि श्रेष्ठले बताए ।

दुई हजार ३०० मिटर लामो कुलो निर्माण गरेर छल्दीखोलाको पानी ल्याएपछि ४५ घरधुरी किसानको २० हेक्टर खेतमा सिंचाइ सुविधा पुगेको छ ।

यो आयोजना निर्माणका लागि सरकारको २ करोड ७३ लाख ३३ हजार ५५९ रुपैयाँ खर्च भएको छ भने बाँकी स्थानीय किसानले श्रमदान गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०८० शुक्रबार ००:००  ७ : १० बजे