पाल्पा ।
लेदो र गेग्रानसहितको पहिरो खस्दा सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ ।
अविरल वर्षासँगै माथिबाट निरन्तर लेदोसहितको गेग्रान सडकमा थुप्रिदा सडक सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ ।
माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नती गर्दा फालेको गेग्रान र लेदो बगेर राजमार्गअन्तर्गत माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा राजमार्ग बिहानैदेखि अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए । पहिरो र लेदो पन्छाउन पानी परिरहेकाले कठिनाई भएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदोसहितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ ।
कालीगण्डकी करिडोर निर्माणका क्रममा जथाभावी फालेका गेग्रानले तल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण पानी पर्नासाथ समस्या पर्ने गरेको हो । दोभान प्रहरी चौकीकाअनुसार राजमार्गको तिनाउ–३, भुतखोलामा रुख ढलेर अवरुद्ध भएको सडक भने सुचालु गरिएको छ ।
प्रतिक्रिया