१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सिकलसेल एनिमियाको चेकजाँच गर्दै बुद्धभूमि, वडा नं. १ मा ३९ जना शंकास्पद भेटिए



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले सिकलसेल एनिमियाको निःशुल्क चेकजाँच गरिरहेको छ । नगरभित्रको थारु समुदाय भित्र यो रोगको निःशुल्क चेकजाँचमा बुद्धभूमि लागेको हो ।

आइतबार नगरको वडा नं. १ को भेलाईमा गरिएको चेकजाँच मध्ये ३९ जना शंकास्पद भेटिएका छन् । १ सय ५५ जनाको चेक गर्दा उक्त संख्यामा शंकास्पद भेटिएका नगरका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले जानकारी दिए ।

विद्यालयमा गरिएको उक्त जाँचमा ७० प्रतिशत थारु विद्यार्थी र ३० प्रतिशत अन्य रहेका थिए ।

नगरको स्वास्थ्य शाखामा यो रोगको परिक्षणमा तिव्रता दिएको स्वास्थ्य अधिकृत अर्यालले जनाए । शंकास्पदहरुको रगत परिक्षणका लागि पठाइएको उनले बताए ।

सोमबार वडा नं. ३ को दुविया, मंगलबार वडा नं. २ को जयनगर र बुधबार वडा नं. ४ बुड्ढीमा चेकजाँचको कार्यक्रम तय भएको उनले जानकारी दिए ।

मलेरिया विभिन्न प्रजातिका हुन्छन् । त्यसमध्यको एक प्लाज्मोडियम फ्याल्सिपेरम एउटा प्रजातिको मलेरिया हो । यो कडा किसिमको हुन्छ ।

समयमै यसका विरामीले उपचार नपाएको खण्डमा मान्छे मर्न पनि सक्छ । त्यस्तै यसको राम्रोसित उपचार नगरे यो एक व्यक्तिबाट सयौं व्यक्तिमा सजिलै सर्ने गर्छ । प्लाज्मोडियम फ्याल्सिपेरम मलेरिया प्रचुर मात्रामा हुने ठाउँमा सिकलसेल ऐनिमिया देखिएको छ ।

वैज्ञानिकहरुले यसलाई कसरी एक आपसमा सम्बन्धित गरेका छन् भने शरीरले प्लाज्मोडिम फ्याल्सिपेरम मलेरियाबाट बच्नको लागि हाम्रो मानव शरीरको रक्तकोष हसियाको आकारमा परिवर्तन भई सिकलसेल जस्तो आकारमा बदलिन्छ । अर्थात ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।

किनभने हसिया आकारको सिकलसेल भएको रक्तकोषिकालाई फ्याल्सिपेरम नामक मलेरियाले आक्रमण गर्न सक्दैैन । त्यो मलेरियाको प्रतिरोधको लागि उक्त कोषिकाले आकार परिवर्तन गर्दछ ।

आकार परिवर्तन हुने भएकैले यो सिकलसेल एनिमिया मलेरिया निश्चित जनसंख्या भएका ठाउँहरुमा मात्र देखिने गरेको पाइएको छ।

यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवा(आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै हालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ ।

अहिलेसम्म देखिएकामध्ये कपिलवस्तुदेखि महाकालीसम्मका थारु समुदायका मानिसहरुमा यो रोग फैलिएको छ ।

यसका रोगी उपचारका लागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ । जो रोगवहाक हो, जसको जीन खराब छ तर ऊ स्वस्थ्य छ, त्यस्ता जनसंख्या नेपालमा धेरै छन् । तिनीहरुमै रोग बढी देखिएको छ ।

प्रकाशित मिति : १७ असार २०८० आइतबार ००:००  १० : ०३ बजे