बुटवल ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले नाराबाजी गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । एमालेले बजेटबारे सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ ।
आइतबारको बैठकमा अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गरेका छन् ।
मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए । अवरोधका कारण स्थगित भएको बैठक पुनः सोमबार दिउँसो १ बजे बस्ने गरी सभामुख तुलाराम घर्तीले जानकारी दिए । यसअघि पनि असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै एमालेले विरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन ।
असार १० गते बजेटमाथि छलफल गर्ने गरी आह्वान गरिएको प्रदेश सभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो । ततपश्चात असार १३ गते बैठक बसेको थियो । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नीति र सिद्धान्तविपरीत भएको भन्दै विरोध गरेपछि प्रदेशसभामा बजेटले प्रवेश नै पाएको छैन ।
विपक्षी दल एमालेले मुख्यमन्त्री कार्यालयमा शीर्षक नखुलाई एकमुष्ट दुई अर्ब बजेट छुट्याएको, प्रदेश विना कारण निर्देशनालयहरू खारेज गरेको, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौती गरेको र आफूअनुकुलका मात्रै बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै त्यसको कारण माग गरेको छ ।
प्रतिक्रिया