७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

गृहमन्त्री श्रेष्ठ भन्छन्ः बीआरआईमा चीनको चासो छ



काठमाडौं ।
पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार स्वदेश फर्कनुभएको छ ।

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आइतवार स्वदेश फर्कनुभएको हो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष पत्रकार सम्मेलनमा बोल्दै चीन भ्रमण फलदायी भएको बताउनु भयो ।

उहाँले भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्तामा दुई देशबीचको विकास, व्यापार र लगानीका सम्भावनाको विषयमा सकारात्मक छलफल भएको बताउनु भयो ।

उहाँले चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’ लगायत विषयमा छलफल भएको र चीन सरकात्मक रहेको बताउनु भयो । चीनद्वारा नेपालमा विगतमा हुँदै आएको सहयोग बढाउन आग्रह गरिएको पनि उहाँले बताउनु भयो ।

उहाँले व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको बताउनु भयो । चीन सरकारसँग सम्झौता भएको बीआरआईको कार्यान्वयनको विषयमा चीन सरकारले चासो राखेको बताउनु भयो ।

उहाँले नेपाल सरकारले बीआरआईमा २०७० मा नै सम्झौता गरेकाले कार्यन्वयनको मोडालिटी बनाएर कार्यान्वयन प्रक्रिया टुङ्गो लगाउने बताउनु भयो । उहाँले नेपाल चीनसँग भएको बीआरआई सम्झौताले लाभान्वित हुने विश्वास लिएको बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरिएको बताउनु भयो । उहाँले सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा छेन्दु–काठमाण्डौ रूटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा कमर्सियल उडान शुरू गर्न आग्रह गरेको बताउनु भयो ।

उहाँले भैरहवा भन्दा पनि सिचुवान एयरलाइन्स पोखरामा उडान भर्न तयार रहेको देखिएको बताउनु भयो । उपप्रधानमन्त्री श्रेष्ठले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चीन भ्रमणमा हामीले चीन र नेपालबीचको असल मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भयो । नेपाल र चीन सिचुवानबीचमा आपसी सम्बन्धलाई सुधार गर्नुको अतिरिक्त विकास, व्यापार र लगानीका क्षेत्रमा रहेका सम्भावनाको बारेमा भएका छलफलहरु सकारात्मक भएका छन् । चीनले नेपालको सार्वभौम सत्ता भौगोलिक अखण्डता र स्वाधिनताका लागि सधैँ सम्मान गर्दै आएको छ । नेपालको विकास प्रक्रियामा पनि सधैँ साझेदारको रुपमा सकारात्मक भूमिका खेल्दै आएको छ । नेपालमा सङ्कट पर्दा भूकम्प र कोभिड महामारीमा गरेको सहयोगको हार्दिक प्रकट गरेका छौँ। नेपालले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अघि बढी रहेको अवस्थामा विगतमा गर्दै आएको आर्थिक सहयोगलाई थप वृद्धि गर्नको लागि विशेष अनुरोध गरेका छौँ। साथै बिआरआईको कार्यान्वयनका लागि दुई पक्षबीचमा छलफल भइरहेको छ । अन्तिम रुप दिइसकेपछि बिआरआई प्रोजेक्टको मोडालिटिको बारेमा टुङ्गो लगाउने छौँ । यो प्रोजेक्टबाट पनि हामी लाभान्वित हुने अपेक्षा गरेका छौँ।’

उपप्रधानमन्त्री श्रेष्ठ सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधवार चीन भ्रमणमा जानुभएको थियो ।

प्रकाशित मिति : १७ असार २०८० आइतबार ००:००  ५ : २७ बजे