बुटवल ।
बुटवलमा नेपाली कांग्रेसका दुई समूहबीच झडप भएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रूपन्देहीद्वारा आयोजित क्षेत्रीय भेलामा संस्थापन समूह र संस्थापन इतर समूहबीच हात हालाहाल भएको हो ।
बुटवलको अम्रपाली कटेजमा भएको कार्यक्रममा कांग्रेसका सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए । आन्तरिक विवादले उग्ररुप लिएपछि प्रहरी परिचालन गरिएको छ ।
गुटका आ–आफ्नै स्वार्थ भएपछि विवाद भएको कार्यक्रममा सहभागी एक कांग्रेस कार्यकर्ताले बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण बोलेर निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ ९नेविसंघ० रुपन्देहीका सभापति सन्दीप पौडेललगायतका विद्यार्थी नेताहरूले आफूहरूलाई आसनग्रहण नगराएको भन्दै प्रश्न उठाएका थिए ।
आसन ग्रहणको विषयमा भएको विवादले उग्ररुप लिएपछि प्रहरी परिचालन गरिएको बताइएको छ । संस्थापन पक्षका विद्यार्थी नेताले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेको इतर पक्षका विद्यार्थी नेताको आरोप छ ।
नेपाली कांग्रेस क्षेत्रीय सचिव विमल भट्टराईले संस्थान निकट विद्यार्थीहरूले आसनग्रहण गराइएन भनेर विवाद गरेको बताए । पछि सहमति भएको भट्टराईको भनाइ छ ।
इलाका प्रहरी कार्यालय, बुटवलले विवाद ठूलो नभएको दाबी गरेको छ । सभापति खाँणले आसनग्रहणको विषयमा विवाद भएको बताए ।
प्रतिक्रिया