काठमाडौं ।
निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले पाँच जना केन्द्रीय सदस्यलाई निष्कासन गरेको छ।
जसपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई निष्कासन गरेको हो। उनीहरूलाई पार्टीको सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
जसपाको निर्णयमा भनिएको छ, “निर्वाचनमा अन्तर्घात गर्ने पार्टीका केन्द्रीय सदस्यहरू दीपेन्द्र नेम्वाङ, देउकुमार नेम्वाङ, महेन्द्र चौधरी, मनोरञ्जन गोइत र धर्मेन्द्र मरवैतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको छ।”
त्यस्तै, अन्य केही केन्द्रीय सदस्यलाई नसिहत दिइने भएको छ। “छानबिन समितिको प्रतिवेदनको सिफारिश अनुसार पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ,” केन्द्रीय समितिको निर्णयमा भनिएको छ, “कारबाहीको निर्णय उपर चित्त नुझेमा सम्बन्धित व्यक्तिले १५ दिनभित्र पार्टीको अनुशासन आयोगमा निवेदन दिन सक्नेछन्।”
यससँगै जसपा केन्द्रीय समिति बैठकले समाजवादी मोर्चालाई अनुमोदन गरेको छ। बैठकले विधानको मस्यौदालाई पनि अनुमोदन गरेको बस्नेतले बताए।
प्रतिक्रिया