मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ झुँगामा शनिबार दिउँसो करिब साढे चार बजेतिर एउटा इरेक्साले बाटो छोड्यो । अर्थात् दुर्घटनामा पर्यो । इ–रेक्सा पीच छोडेर सडकको छेउमा रहेका ढुँगामाथि चढ्यो ।
दुर्घटनामा परेको इ–रेक्सा ठडिएको पोलसंग ठोक्किन केही भित्ता मात्रै बाँकि थियो । नजिकै कुलो थियो । ढुंगाको कारण इ–रेक्सा पल्टिनबाट जोगियो । तर नराम्ररी ढुँगामा ठोक्कियो । पोलमा ठोक्किएको इ–रेक्सा कुलोमा खसेको भए त्यहाँ ठूलो क्षति हुन्थ्यो । किनकि एक जना यात्रु पनि थिए । चालक सामान्य घाइते थिए । उनको शरीरका बिभिन्न स्थानमा चोट लागेको थियो । उनी इ–रेक्सामै थिए भने घाइते यात्रु कुलोको डिलमा निन्याउरो मुद्रामा थिए । इ–रेक्सा एक्कासी दुर्घटनामा परेको देखेपछि त्यहाँ सर्वसाधारणको भीँड लाग्यो ।
दुर्घटना कसरी भएछ ? भनेर एकैछिनपछि सर्वसाधारण चालक नजिक पुग्दा ह्वास्स रक्सीको गन्ध आएको थियो । चालक दुर्घटनामा छु कि छैन पत्तोमा थिएनन् । उनी रक्सीले मातेका थिए ।
मातमा रहेका उनले सर्वसाधारणसंग कुनै कुरा गर्न सकेनन् । यता यात्रुले ठूलो दुर्घटनाबाट बचिएको र बाँचिएको बताउँदै थिए । रक्सी सेवन गरेर इ–रेक्सा हाँकेका कारण घुम्तीमा दुर्घटना भएको सर्वसाधारणले पछि थाहा पाए ।
यो एउटा प्रतिनिधि घटना मात्रै हो । बाणगंगामा यसरी मादक पदार्थ सेवन गरेर वातावरण मैत्री इ–रेक्सा र अटो चलाइने गरेको गुनासो यात्रुहरुले पटकपटक गर्दै आएका छन् । जसका कारण दिनप्रतिदिन दुर्घटना बढिरहेको छ भने यात्रुको ज्यान नै जोखिममा पर्ने गरेको छ । तीव्र गतिमा अटो र इ–रेक्सा चल्नु र कतिपय चालकले रक्सी सेवन गर्नु अहिलेको असुरक्षाको प्रमुख कारण भएको यात्रुहरुको भनाई छ । यसरी लापरबाही ढंगले चल्ने अटोमाथि नियमन नियन्त्रण गर्ने काम कसको हो कसैलाई थाहा छैन ।
अधिकाँश अटो र इ–रेक्सा रकेट गतिमा कुद्छन् । सडकमा तिनको कुदाइ देख्दा यस्तो लाग्छ कि यहाँ कुनै अटो दौड प्रतियोगिता नै चलेको छ । अटोभरी यात्रु खाँदिएका देखिन्छन् । बाटो सिधा होओस् या घुम्ती चालकहरुलाई कुनै मतलब हुँदैन । जसले गर्दा पटकपटक दुर्घटना हुन्छ । यसरी कुदाउनेमा तिनै रक्सीले मात्ने रहेको यात्रु बताउँछन् ।
बाणगंगा नगरपालिकाभित्र अहिले अढाइ सय बढी अटो चल्ने गर्दछन् । तीमध्ये समितिमा आवद्ध वातावरणमैत्री इ–रेक्साको संख्या १ सय १० बढी छ भने अटो टेम्पोको संख्या पनि सोही हाराहारीमा छ । इ–रेक्साको नेतृत्व बोडगाउँका क्रषिराम पोख्रेलले गर्छन् भने अटो रिक्साको नेतृत्व ठाकुरापुरका गणेश पौडेलले गर्छन् । यो बाहेक समितिमा आवद्ध नरही आफूखुसी चल्ने अरु सय बढी अटो र टेम्पो रहेको उनीहरु बताउँछन् ।
झुँगामा दुर्घटना गराउने चालकको पहिचान भइसकेको र उसलाई सतर्क गराइ सकिएको बाणगंगा इ–रेक्सा समितिका अध्यक्ष क्रषिराम पोख्रेलले बताए । उनी समिति मातहतमा नआएको चालक भएको हुनाले कुनै क्षतिपुर्ति समितिले नदिने बताए ।
समितिको बदनाम र चालकको असुरक्षा हुने गरी सवारी चलाउने चालकलाई अब कडा कारबाही गर्ने उनले चेतावनी दिए । बाणगंगामा अटो र इ–रेक्सा चालकको लापरबाही रहेकोबवाणगंगा अटो रिक्सा समितिका अध्यक्ष गणेश पौडेलले स्विकार गरे ।
उनका अनुसार यसरी मापसे गरी तीव्र गतिमा चल्ने धेरै चालक समिति बाहिरकै रहेका छन् । समिति मातहतका कतिपय चालक त्यस्तै रहेको स्विकार गर्दै यिनलाई नियमन गर्न जरुरी रहेको पौडेलले स्विकार गरे ।
पोख्रेलले आफूहरुले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै सकेसम्म नियमनको नीति बनाएको दावी गरे । उनले भने ‘हामीेले सकरभर देखेका जतिलाई क्यूमा लगाउने गरेका छौँ । तर क्यूमा नरही आफूखुसी चल्ने इ–रेक्सा र अटो कुनै दुर्घटनामा परे एक रुपैयाँ पनि सहयोग हुँदैन । मापसे गरेको थाहा पाएमा क्यूमै बस्न दिँदैनौँ । तर बाहिर भाग्ने, लाइनमा आउन नसक्ने चालकलाई केही गर्न सकिने रहेनछ । उनीहरु जुन समस्यामा परे पनि हामीले हेर्दैनौँ ।’
बाणगंगामा चल्ने अधिकांश अटो तथा इ–रेक्सामा होडबाजी चलेको सत्य भएको उनले बताए । उनी थप्छन् ‘यो त चालकले बुझ्नु पर्ने हो । त्यहाँ यात्रु हुन्छन् । उनका परिवार हुन्छन् । मैले कतिपटक बाटोमा अटो चलाउँदै रोक्ने गरेको छु । दौडाउने प्रतिस्पर्धा नै छ ।’
पछिल्लो घटनाले आफ्नो ध्यानाकर्षण रहेको भन्दै तुरुन्तै सबैलाई बोलाएर छलफल गराएर आवश्यक निर्देशन दिने पोख्रेलले बताए । त्यसपछि पनि रक्सी खाएको, तीव्र गतिमा अटो या इ–रेक्सा हाँकेको पाइए कडा कारबाही गछौँ । उनीहरुको लाइसेन्स खारेजीको लागि कदम चाल्छौँ, उनले भने ।
बाणगंगा नगरले अटो र इ–रेक्साको नियमन नीति बनाए पनि त्यो कागजमै सिमिति छ । नीति बनाएदेखि एकपटक पनि यिनको अवलोकन र अनुगमनमा नगरको सक्रियता देखिन्न ।
यता इ–रेक्सा र अटो टेम्पोका चालकले लाइसेन्स नलिइकनै चलाउने गरेको गुनासो पनि आउने गरेको छ । अटो र इ–रेक्सा सवारी वर्गिकरणको ‘सि’ र ‘सि वान’ वर्गमा पर्छन् । यो भनेको ती सार्वजनिक सवारीसरह पर्दछन् । यसका चालकले पनि लाइसेन्स लिनैपर्ने हुन्छ । लाइसेन्स नलिइकनै हाँक्नेलाई कारबाही गर्ने अधिकार प्रहरीसंग छ ।
इलाका प्रहरी कार्यालय पिपराले अब अटो र इरेक्सा चालकमाथि कडाई जरुरी रहेको बतायो । अब अटोहरुमा पनि मापसे चेकिङ तीव्र पारिने उक्त प्रहरी श्रोत बताउँछ ।
प्रहरी निरीक्षक होमनाथ रेग्मी यो समस्या नेपालकै रहेको बताउँछन् । इलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीमा कार्यरत रहेका उनले आफ्नो इलाकामा नगन्य मात्रामा अटो चल्ने गरेको बताउँदै यस्ता गुनासा आफू कहाँ पनि आउने गरेको प्रहरी निरीक्षक रेग्मीले बताए ।
सर्वसाधारणको गुनासोको आधारमा त्यस्तो बदमासी गरेको पाइए कारबाही गर्नुपर्ने उनी बताउँछन् । उनी भन्छन् अटो र इ–रेक्सा पनि सार्वजनिक यातायता अन्तर्गत नै पर्दछन् । यसका चालकले अनिवार्य रुपमा लाइसेन्स लिनै पर्छ । यिनमा पनि अरु गाडीमा लागु हुने नियम लागु हुन्छ । मापसे जाँच गर्ने अधिकार प्रहरीसंग छ । अब हरेक ठाउँमा प्रहरीले अटोको ज्यादती रोक्न मापसे जाँच गर्नु पर्ने आवश्यक छ । उनीहरुको गतिमा पनि ब्रेक लगाउनु जरुरी देखिन्छ ।
ट्राफिक प्रहरीका अनुसार कुनै पनि सवारीले नियम मिचेर चलाएको पाइए पहिलोपटकमा ५ सय, दोस्रोमा पटक १ हजार र तेस्रो पटकमा १ हजार पाँच सय रुपैयाँ जरिवाना लिइन्छ । त्यसपछि पनि सवारी नियमविपरित चलेमा लाइसेन्स नै जफत गरिने व्यवस्था छ । अटो तथा इ–रेक्सालाई पनि यही नियम लागु हुने प्रहरी बताउँछ ।
प्रतिक्रिया