८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मिटरब्याज पीडितको आन्दोलनलाई एकीकृत समाजवादीको समर्थन



काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । नेता खनालले माइतिघरमा पुगेर पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए ।

उनले भने, ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’

देशभर मिटरब्याजीहरु फैलिएकाले सरकारले त्यसलाई रोक्नुपर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मिटरब्याजीको समस्या समाधान गर्न ध्यानकर्षण गराए ।

उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भेटेर पनि यही कुरा भन्छौं । तपार्ईहरुको समस्या समाधान गर्नैपर्छ। यो परिवर्तन जनताको लागि हो शोषकको लागि होइन । तपाईंहरुको हितमा सरकारले नीति र कार्यक्रम बनाउनुपर्छ। आवश्यक पर्छ भने नयाँ ऐन पनि बनाउनुपर्छ ।’

यस्तै, नेकपा एसको सचिवालय बैठकले मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धतासमेत जनाउने निर्णय गरेको थियो । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गर्ने र दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९ बुधबार ००:००  ६ : ४० बजे