१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सरकार र यातायात मजदुरबीच सहमति, आन्दोलन फिर्ता



काठमाडौं ।
यातायात मजदुर र व्यवसायीले सरकारसँग आज विहान गरेको वार्तापछि सबै आन्दोलन फिर्ता भएको छ । यातायात मजदुर व्यवसायीका नेताहरूसँग आज मंगलबार बिहान सिंहदरबारमा सरकारले वार्ता गरेको हो । वार्तामा आन्दोलन फिर्ता लिएर कार्यदलमार्फत सहमति गर्न व्यवसायीहरु सहमत भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठका सचिवालय सदस्य विजय गौतमका अनुसार सरकारसँगको वार्तामा मजदुर नेताहरु सहमत भई तत्कालका लागि आन्दोलन फिर्ता लिन सहमत भएका छन् । यसअघि यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बनेको कार्यदलमा मजदुर संघका सदस्यहरुलाई पनि थप गरिएको थियो । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले सोमबार नयाँ बसपार्क क्षेत्रमा तोडफोड र आगजनी गरेका थिए ।

लगत्तै आज सार्वजनिक यातायात बन्द गर्ने घोषणा गरेका उनीहरु मंगलबार बिहान सरकारसँग वार्तामा जुटेका थिए। मंगलबार बिहानैदेखि सार्वजनिक यातायात नचल्दा उपत्यकाका सर्वसाधारणले सास्ती व्यहोर्न परेको थियो।

सचिवालय सदस्य गौतमका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने सहमति बनेको छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानविन गर्ने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने, पक्राउ परेका मजदुरलाई रिहा गर्ने सहमति भएको उनले बताए । दुवै पक्षबीच सहमति बनेपछि सार्वजनिक यातायात सुचारु हुनेभएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९ मंगलबार ००:००  १२ : ०६ बजे