१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग होः सूर्य थापा



काठमाडौं ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक विदा दिनु एक किसिमले अख्तियारको दुरुपयोग भएको बताएका छन् । सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै उनले त्यस्तो बताएका हुन् ।

सांसद थापाले लेखेका छन्, “२०५२ फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष थियो । जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन ।” सशस्त्र संघर्षमा परी बलिदान दिनेप्रति उनले सम्मान प्रकट गरेका छन् ।

जसले क्रान्तिका खातिर आफ्नो सर्वस्व गुमाउन आफूलाई समर्पित गरे तिनप्रति धोका र विश्वासघात भइरहेको बताउँदै एमालेका युवा नेता तथा सांसद थापाले लेखेका छन्, “नक्कली जनयुद्ध दिवसका नाममा बलिदानी गर्नेहरुका सपनाको सौदाबाजी गरिरहेका छन् । व्यवहारमा चाहिँ पार्टीको नाम, झण्डा र चुनाव चिन्ह बदल्ने प्रस्तावसहित विरासत र अवशेषप्रति सम्बन्ध विच्छेद गर्न चाहिरहेका छन् ।”

सांसद थापाले जनयुद्ध दिवस होइन, यो विरोधाभास र मजाकको अभ्यास मात्र हो भन्दै भनेका छन्, “जनयुद्धको कार्यदिशा परित्याग गरेको झण्डै डेढ दशकपछि सरकारीस्तरमा जनयुद्ध दिवस मनाउने निर्णय र सार्वजनिक विदाको घोषणा शासकीय अख्तियारको दुरुपयोग नै हो ।”

प्रकाशित मिति : १ फाल्गुन २०७९ सोमबार ००:००  ६ : ३४ बजे